समाचार

फेरी थप काठमाण्डौका यी ठाउँमा भेटिए नयाँ क्रोना संक्रमित, काम नपरी घर बाहिर ननिस्कन आह्वान !

गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय सङ्क्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौँ आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताउनुभयो ।

मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उहाँलाई सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा पहिलोपटक कोरोना सङ्क्रमण प्रमाणित भएको हो ।

नगर स्वास्थ्य समितिको आजै बैठक बसी सङ्क्रमितको परिवारका सदस्यलाई पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताउनुभयो । सङ्क्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ । नगरपालिकामा सङ्क्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन् । नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन् ।

त्यस्तै काठमाडौंमा बस्दै आएका एक ३ वर्षका बालकमा पनि कोरोना पुष्टि भएको छ । उनी लमजुङका उनी आफ्ना परिवारका साथमा काठमाडौं महानगरपालिका वडा नं। १६, वनस्थली बस्दै आएको बताइएको छ । तर उनीहरु काठमाडौंमा कहिले देखि बस्दै आएका हुन् भन्ने कुरा भने खुलेको छैन । ति बालक काठमाडौंमै रहेको बेलामा कोरोना पुष्टि भएको लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले बताउनु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मुलुकभरको कोरोनाको अवस्थाका बारेमा दिएको जानकारकिा क्रममा लमजुङका एक व्यक्ति कोरोना भाइरसबाट संक्रमण भएको जानकारी दिएको थियो । यो जानकारी संगै लमजुङमा पहिलो पटक कोरोना पुष्टि भएको बताइएको थियो । तर ति बालक परिवारका साथ काठमाडौंमै रहेको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण भएकोबारे जानकारी आएपछि आफुहरुले खोजी गर्दा उनी काठमाडौंमै रहेको बुझिएको बताउनुभएको छ । ति बालकको कोरोना परिक्षण शुक्रराज ट्रपिकल अस्पतालमा गरिउको थियो । परिवारका अन्य सदस्यको कोरोना संक्रमण परीक्षण भए नभएको बारे जानकारी नआएको उहाले बताउनुभयो ।

त्यस्तै यस अघि महानगरीय प्रहरी वृत कालिमाटीमा कार्यरत दुई प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वृत प्रमुख रुगम कुँवरले एक जना नायब निरीक्षक-सई र एक जवानलाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभयो। वृत, त्योसँगै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको कुँवरले जानकारी दिनुभयो । र्‍यापिड टेस्टमा पोजेटिभ पाइएपछि गरिएको पिसिआर टेस्टले उनीहरूमा संक्रमण भएको पुष्टि गरेको हो।

दुई प्रहरीमा के कसरी संक्रमण हुन पुग्‍यो भन्ने बारेमा थाहा हुन नसकेको उँहाको भनाइ छ। अब ती प्रहरीको कन्ट्याक्ट ट्रेसिङपछि थप कदमका बारेमा थाहा हुने बताए। मंगलबार मात्रै सुनसरीमा खटिएका एक जना सशस्त्र प्रहरी र धनकुटा जिल्ला अस्पतालमा खटिएका एक जना प्रहरीमा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो।

सङ्क्रमित बस्ने द्यौला बस्ती ‘सिल’

भक्तपुर नगरपालिका–५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले ‘सिल’ गरेको छ । भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उहाँलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकामा सवारी चालकको काम गर्दै आएका उहाँको महानगरपालिकाले यही जेठ २ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलेखेल पुगेर बस्ती सिल गरेको छ ।

बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र सम्पर्कमा रहेकाहरुको परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

सिद्धिपुरमा चारै घरका सिल खुला

महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ । सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यालय र स्थानीय बासिन्दा मिलेर हामीले गत बुधबार र बिहीबार वडामा अन्य जिल्लाबाट मानिस प्रवेश गरेको सूचनाको आधारमा गएर हेर्दा देखेपछि सिल गरेका थियाँै ।” उक्त वडामा काठमाडौँ उपत्यका बाहिरबाट आएकालाई बन्दाबन्दी भएदेखि नै प्रवेश निषेध गरिएको महर्जनले जानकारी दिनुभयो । “सिद्धिपुर प्रवेश गर्ने १० वटा विन्दु रहेका हुँदा वडामा २४ आँै घण्टा बाहिरी जिल्लाका मानिस प्रवेश रोक्नका लागि स्थानीयवासी युवाले सुरक्षा दिनेछन्”, उहाँले थप्नुभयो ।

चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ, पिसीआर परीक्षण गरिँदै

चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त महर्जनले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणका क्रममा नौ व्यक्तिको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिनुभयो । “चन्द्रागिरी नपाका वडा नं १२ बलम्बु, वडा नं १३ पुरानो नैकाप र वडा नं १४ नयाँ नैकापमा गरिएको ११३ जनाको परीक्षणमा नौ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो”, उहाँले भन्नुभयो ।

आरडिटी रिपोर्ट पोजेटिभ देखिएका नौ व्यक्तिको पिसीआर परीक्षण गर्न लागिएको चन्द्रागिरि नपाले जनाएको छ । आरडिटी पोजेटिभ देखिएसँगै चन्द्रागिरि नपाले क्वारेन्टिनको क्षमतालाई समेत विस्तार गरेको छ । नगर प्रवक्ता महर्जनले थानकोट प्राथमिक अस्पताल र मनमोहन अस्पताल दहचोकमा क्वारेन्टिन विस्तार गर्न लागिएको जानकारी दिनुभयो । चन्द्रागिरिले आजदेखि १०० श्ययाको क्वारेन्टिन थप गरेको छ । कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिलाई क्वारेन्टिन र गम्भीर बिरामीलाई आइसोलेसनमा राख्नका लागि क्वारेन्टिन विस्तार गर्न लागेको हो ।

केही दिनअघिमात्र सशस्त्र प्रहरी अस्पताल बलम्बुमा गरिएको कोरोना परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि चन्द्रागिरि नपाले नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई प्राथमिकता दिँदै आएको छ । चन्द्रागिरिले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि प्रवेश गरेका व्यक्तिको लगत सङ्कलन गरी कोरोना परीक्षणलाई तीव्रता दिएको नगरप्रमुख घनश्याम गिरीले बताउनुभयो ।

चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परीक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नपाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ । पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चन्द्रागिरीले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रूपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ ।

Related Articles

Back to top button
Close