समाचार

लेटाङमा करेन्ट लागेर बालकको मृत्यु

मोरङ / मोरङको लेटाङ नगरपालिका–३ त्रिसूली चोकमा करेन्ट लागेर १५ वर्षीय किशोरको बिहीबार बिहान मृत्यु भएको छ ।
बिहान सवा १ बजेतिर पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।

उनका अनुसार शौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुवै जना एउटै खाटमा सुतेकोमा शौजनलाई भने करेन्ट लागेको हो । चार्ज गर्दै मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासि छटपटाउन थालेपछि बुवा, आमालाई बोलाएका थिए । चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीको भनाइ छ । करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो । घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ ।

प्रहरीले कुन गेम खेल्दा घटना भएको हो भन्ने बारेमा नखुलेको र घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ । शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको छ ।

Related Articles

Back to top button
Close