स्वास्थ्य/ जिबनशैली

कोरोना संक्रमित गर्भवती र सुत्केरीको हेरचाह कसरी गर्ने ?

काठमाडौं– सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको कोरोना संक्रमणकै कारण मृत्यु भयो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म संक्रमण पुष्टि भएका ४०२ जना संक्रमित मध्ये ६२ जना महिला छन् । तीमध्ये केही डिस्चार्ज भएका छन् भने अघिकांश आइसोलेसनमै रहेका छन् ।

नेपालमा कोरोना संक्रमण देखिएका ६२ जना महिलामध्ये कतिजना गर्भवती र सुत्केरी छन् भन्ने स्वास्थ्य मन्त्रालयले केही जानकारी गराएको छैन ।

खबरहबलाई प्राप्त जानकारी अनुसार नारायणी अस्पतालमा एकजना सुत्केरी महिला छन् । ती महिलाका शिशु पनि कोरोना संक्रमित छन् ।

यस्तै भेरी अस्पताल, नेपालगञ्जको नेतृत्वमा कोरोनाका बिरामी राखिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एकजना गर्भवती महिला छिन् ।

अस्पतालका प्रमुख प्रकाशबहादुर थापाका अनुसार ७ महिनाकी ती गर्भवती महिला कोरोना संक्रमण भएर आइसोलेनमा छिन् ।

ती गर्भवतीका पति पनि संक्रमित छन् । गर्भवतीमा कोरोना संक्रमण भए पनि उनको स्वास्थ्यमा कुनै समस्या नरहेको डा. थापाको भनाइ छ ।

‘हाम्रो आइसोलेनमा एकजना ७ महिनाको गर्भवती हुनुहुन्छ, उहाँमा कोरोनाको लक्षण भने छैन,’ डा. थापाले भने, ‘गर्भवती महिलाका पति पनि संक्रमित हुनुहुन्छ हामीले उहाँहरूलाई नजिक–नजिकै राखेका छौँ ।’

डा. थापाका अनुसार ती गर्भवती कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको १५ दिन पुगेको छ । उनी सुत्केरी हुनुअघि नै संक्रमण निको हुनसक्ने चिकित्सकहरूको विश्वास छ ।

‘नेपालमा कोरोना संक्रमितहरू सामान्यतया तीन सातासम्ममा निको भएका छन्, उहाँलाई पनि सुत्केरी हुनुअघि नै कोरोना निको हुन्छ भन्ने आशा गरेका छौँ,’ डा. थापाले भने, ‘अहिलेसम्म आमा र गर्भको बच्चामा कुनै समस्या छैन, संक्रमणकै समयमा सुत्केरी व्यथा लाग्यो भने पनि हामीले सुत्केरी गराउन तयारी पनि गरेका छौँ ।’

यो त जानकारी प्राप्त भएका सुत्केरी र गर्भवतीको अवस्था हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार भेरी अस्पतालमा आइसोलेनमा संक्रमित एक महिला गर्भवती रहेको स्वास्थ्य मन्त्रालयको जानकारीमा छ । अन्य आइसोलेनमा कति गर्भवती र सुत्केरी छन् भन्ने स्वास्थ्य मन्त्रालयलाई थाहा छैन ।

‘हामीलाई नेपालगञ्जमा एकजना संक्रमित महिला गर्भवती हुनुहुन्छ भन्ने जानकारी आएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने, ‘संक्रमितको संख्या बढ्दै जाँदा अन्य अस्पतालमा पनि गर्भवती र सुत्केरीहरू आइसोलेसनमा हुन सक्छन् तर तथ्यांक हामीलाई पनि आएको छैन ।’

डा. अधिकारीका अनुसार आइसोलेनमा सुत्केरी तथा गर्भवती महिला भएमा परिवार कल्याण महाशाखासँग समन्वय गरेर उनीहरूको उचित व्यवस्थापन गर्न भनिएको छ । उनले आइसोलेसनमा रहेका गर्भवती तथा सुत्केरीमा कुनै समस्या आएको जानकारी अहिलेसम्म नपाएको बताए ।

सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्युपछि सबै अस्पतालमा गर्भवती तथा सुत्केरी महिला भएमा उनीहरूको हेरचाहमा विशेष ध्यान दिन भनिएको सहप्रवक्ता डा. अधिकारीले बताए ।

गर्भवती तथा सुत्केरीलाई विशेष हेरचाह आवश्यक

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित गर्भवती तथा सुत्केरी महिलालाई आइसोलेनमा रहँदा विशेष ध्यान दिनुपर्छ ।

उनका अनुसार त्यस्ता महिलाका लागि विशेष आइसोलेसन हुनु राम्रो हो । ‘कोरोना संक्रमित गर्भवतीहरू छन् भने उनीहरूलाई सम्भव भएसम्म सुविधासम्पन्न आइसोलेसन हुनुपर्छ, उनीहरूलाई सुत्न सजिलो हुनुपर्छ, आइरन र क्याल्सियम चक्की तथ पोषिलो खानाको व्यवस्था हुनुपर्छ,’ डा. गौतमले खबरहबसँग भने ।

‘अन्य आइसोलेसनमा भएका कोरोना संक्रमित गर्भवती महिलाको समय समयमा स्वास्थ्य जाँच गर्नुपर्छ । पेटमा भएको बच्चा राम्रोसँग चलेको छ, रगत र पानी बगेको छैन, प्रेसर ठिक अवस्थामा छ भने चिकित्सकहरूले धेरै चेकजाँच गर्नुपर्ने हुँदैन,’ डा. गौतमले भने, ‘सुत्केरी हुने समय भएकी संक्रमित गर्भवती हो भने हरेक चार घण्टामा स्वास्थ्य अवस्था जाँच गर्नुपर्छ ।’

डा. गौतमका अनुसार गर्भवती र सुत्केरीहरू लक्षणविहीन संक्रमित छन् भने पनि गर्भवती महिला तथा सुत्केरीले पाउने स्याहारको व्यवस्था आइसोलेनमा हुनुपर्छ ।

‘लक्षणविहीन संक्रमित हो भने गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक पोषणतत्व खुवाउनुपर्छ,’ डा. गौतमले भने, ‘गर्भवती महिलाले दिनमा चारपटक पोषिलो खाना मात्रा मिलाएर खानुपर्छ, दिनमा २ घण्टा र राति ८ घण्टा अनिवार्य निदाउनुपर्छ । संक्रमित गर्भवतीका लागि आइसोलेसनमा यस्तो व्यवस्था हुनुपर्छ ।’

कोरोना संक्रमित गर्भवती महिलालाई अन्य महिला तथा पुरुषलाई जस्तो कडा खालको औषधि प्रयोग गर्न नहुने पनि डा. गौतमले बताए ।

‘लक्षणविहीन संक्रमित गर्भवती महिला छन् भने धेरै समस्या नदेखिन सक्छ, तर ज्वरो आएमा सामान्य सिटामोल खुवाउन सकिन्छ,’ डा. गौतमले भने, ‘लक्षण देखियो भने अन्य मानिसलाई जस्तो कडा खालको औषधि दिनु हुँदैन, आमा र बच्चा दुवैका लागि सुरक्षित हुने औषधिमात्र खुवाउन पर्छ ।’

डा. गौतमका अनुसार कोरोना संक्रमित महिलाको योनिबाट रगत तथा पानी निरन्तर बग्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या लगायतका लक्षण देखिनु खतराको संकेत हो । यस्तो अवस्थामा चिकित्सकहरुले विशेष भेन्टिलेटरमा राखेर संक्रमित गर्भवतीको उपचार गर्नुपर्छ ।

‘निरन्तर ज्वरो आइरहेको छ, छाती दुखेको छ, सास फेर्न गाह्रो भएको छ, प्रेसर बढेको छ, गर्भवतीको योनिबाट रगत र पानी बगेको छ, गर्भमा भएको बच्चा उल्टो वा तेर्सो छ भने संक्रमित महिलामा खतराको लक्षण देखिएको मान्नुपर्छ,’ डा. गौतमले भने, ‘यस्तो अवस्थामा आइसोलेसनमा राखेको बिरामीलाई आवश्यकता अनुसार कृत्रिम श्वासप्रश्वासका लागि भेन्टिलेटर प्रयोग गर्नुपर्छ, कुन अवस्थामा डेलिभरी गराउने भनेर पहिला नै योजना बनाउनुपर्छ ।’

थापाथलिस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक रहेका डा. गौतमले प्रसूतिगृहमा कोरोना संक्रमित गर्भवती महिलालाई सुत्केरी गराउन छुट्टै कक्ष स्थापना गरिएको र चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए ।

‘कुनै संक्रमित गर्भवती सुत्केरी गराउन आए नर्मल डेरीभरी गर्नुपरेमा दुई जना नर्स र एकजना डाक्टर खटाउने तयारी गरेका छौँ,’ डा. गौतमले भने, ‘अप्रेसन गर्नुपर्ने अवस्था आएमा दुईजना स्त्रीरोग विशेषज्ञ डाक्टर, एकजना एनेस्थेसियाका डाक्टर र एकजना सहयोगीसहितको टोली व्यवस्था गरेका छौँ ।’

डा. गौतमका अनुसार कोरोना संक्रमति महिलाको गर्भको शिशुमा संक्रमण हुने सम्भवाना कम हुन्छ । संक्रमित महिलालाई सुत्केरी गराएपछि शिशुलाई अलग राख्नुपर्छ र सुरक्षा अपनाएर मात्र स्तनपान गराउनुपर्छ । यस्तै कोरोना संक्रमित गर्भवतीको स्वास्थ्य जाँच गर्ने व्यक्तिले संक्रमण नभएका अन्य बिरामीको उपचार गर्नु हुँदैन । कोरोना संक्रमित महिलालाई सुत्केरी गराएपछि चिकित्सक तथा स्वास्थ्यकर्मी १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।

संक्रमण नदेखिएका गर्भवती र सुत्केरी महिलाको पनि अहिलेको समयमा विशेष हेरचाह गर्नुपर्ने डा. गौतम बताउँछन् ।

‘अहिलेको अवस्था साह्रै जटिल अवस्था हो, संसारभरि नै कोरोनाका उपचारमा हम्मेहम्मे परेको छ, नेपाललाई पनि गाह्रो छ,’ डा. गौतमले भने, ‘यो समयमा गर्भवती महिला घरबाट बाहिर ननिस्कनू, आइरन र क्याल्सियम नियमित खानू,’ डा. गौतमले भने, ‘आकस्मिक स्वास्थ्य समस्या देखिन सक्ने भएकाले घरवरपर भएका एम्बुलेन्स वा ट्याक्सीको व्यवस्था गरिराख्नुपर्छ, सुत्केरी व्यथा लागेमा वा रगतपानी बग्न थालेमा अस्पताल लगिहाल्नुपर्छ ।’

Related Articles

Back to top button
Close