समाचार

स्वास्थ्यकर्मी नै कोरोना संक्रमित देखिएपछि अस्पताल सिल

धनकुटा। जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिए लगतै अस्पताल क्षेत्र सिल गर्दै सबै सेवा बन्द गरिएको छ । आईतबार साँझ जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा समितिको बैठकले संक्रमित स्वस्थ्यकर्मी जिल्ला अस्पतालमा कार्यरत रहेको भन्दै अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरे लगतै सबै सेवा बन्द गरिएको हो ।
मोरङ घर भई धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्र आसपासका चारकिल्ला सिल गरिएको जिल्ला प्रशासन कार्यलय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित स्वास्थ्य कर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

धनकुटा नगरपालिका वडा नम्बर ७ अस्पताल क्षेत्रबाट उत्तर परिचय मोड, पूर्व यलम्बर चोक, दक्षिण त्रिवेणी चोक, पश्चिम जिरो प्वाइन्ट एवं सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई अनिश्चितकालका लागि सिल गर्दै अस्पतालका सबै सेवाहरु बन्द गरिएको छ । अन्य स्वास्थ्यकर्मी एवं स्थानीयबासी थप संक्रमितको पहिचानका लागि तीव्र परीक्षण गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पुजन बिश्वकर्माले जानकारी दिनुभयो ।

गत शनिबार ४ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको थियो । उक्त मध्ये धनकुटा नगरपालिका वडा नम्वर सात बस्ने ३४ वर्षीय महिला स्वास्थ्यकर्मीको संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालमा थप सतर्कता अपनाइएको र संक्रमित नर्सलाई विराटनगर पठाउने तयारी रहेको अस्पतालका डाक्टर विश्वकर्माले बताउनु भयो ।
धनकुटामा संक्रमित भेटिएसँगै जिल्लाभर त्रास फैलिएको छ । स्थानीय सञ्चार माध्यम मार्फत सजगता अपनाएर घरभित्र बस्न विभिन्न सरकारी गैरसरकारी संस्थाहरुले सूचना जारी गरिरहेका छन् । अन्य स्वास्थ्यकर्मी एवं स्थानीयबासी थप संक्रमितको पहिचानका लागि तीव्र परीक्षण गरिने भएको छ ।

Related Articles

Back to top button
Close