समाचार

बंगालको खाडीबाट शक्तिशाली आँधी, भारत हुँदै पूर्वी नेपालसम्म आइपुग्ने

काठमाडौं । बंगालको खाडीमा शक्तिशाली चक्रवात (आँधी) विकसित भएको छ । उक्त आँधी भारत छिरिसकेको छ । भोली मंगलबारसम्म त्यो नेपाल आइपुग्ने मौसम विदहरुको दावी छ । यसैले नेपालको पूर्वी भूभाग हुरीबाट प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ ।

मौसमविद प्रतिभा मानन्धरलेका अनुसार ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा यसको असर पर्दैन ।’ ‘धेरैजसो बंगालको खाडीमा बन्ने चक्रवातले नेपालमा खासै असर पार्दैन, असर परिहाल्यो भने पनि पूर्वी नेपालमा मात्र पार्छ ।’

चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ । विभागले पूर्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’

चक्रवातले जमिनमा छोइसकेपछि काम गर्न छोड्छ । जबसम्म अम्पुनले जमिन छुँदैन, तबसम्म वर्षाको सम्भावना हुने मौसमविदहरु बताउँछन् । ‘अम्पुनले पनि ग्राउन्ड ल्याण्ड गरिसकेपछि विस्तारै प्रभाव हट्छ,’ मौसमविद मानन्धरले भनिन् । हाल अम्पुन भारतको ओडिसा हुँदै १३ किलोमिटर प्रतिघण्टाको दरले उत्तरतर्फ सरिरहेको छ । १९ मेसम्म यसको वेग १८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ ।

भारतमा यसले पुर्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसबारे छलफल गर्न गृहमन्त्रीसहितको विशेष बैठक आह्वान गरेका छन् । भारतीय मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर एम महापात्राले यस चक्रवातले २० मेमा भारतको तटीय क्षेत्रलाई छुने र भयंकर वर्षा हुने चेतावनी दिएका छन् । उनका अनुसार यो अम्पुन चक्रवातका कारण ओडिसा, पश्चिम बंगाल, आसाम र मेघालयमा हुरी बताससँगै भारी वर्षा हुने छ । भारतका अन्य स्थानमा भने यसको असर नपर्ने बताइएको छ ।

यस्तो छ नेपालको अवस्था

शक्तिशाली चक्रवात अंपुन (AMPHAN) सम्बन्धी अपडेट : नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा विशेष मौसमी बुलेटिन (Special Weather Bulletin) (जारी मितिः २०७७-०२-०५, बिहान ०७:०० बजे) हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन (AMPHAN) शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ। उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबार बाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७७/०२/०५ देखि २०७७/०२/०७) जारी समय : बिहान ०६:०० बजे / नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin) (जारी मितिः २०७७-०२-०५, बिहान ०६:०० बजे)

मौसम विश्लेषण (Meteorological Analysis):- हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ।
हालको मौसमको अवस्था (Present Weather Status): हाल देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ |
आगामी तीन दिनको मौसम पूर्वानुमान
जेठ ५ गते (सोमबार) दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ६ गते (मंगलबार) दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेठ ७ गते (बुधबार) दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा अपरान्हपछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी पहाडी भू-भागका थोरै स्थानमा हरुमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): देशको अधिकाशं भू-भागहरुमा तापक्रम बढने र तराईका भू-भागहरुमा अत्यधिक गर्मिको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।

Related Articles

Back to top button
Close