समाचार

नेपालमा ज्यान गुमाउने दोस्रो व्यक्त बारे थप गम्भीर खुलासा

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–१९ बाट नेपालमा ज्यान गुमाउने दोस्रो व्यक्तबारे थप गम्भीर खुलासा भएको छ । उनका गाउँलेहरुका अनुसार तत्काल अस्पताल नलगेका कारण भएको हो । बाँकेको क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएपछि नरैनापुर गाउँपालिका–५ मा तनाव र डर उत्पन्न भएको छ । केही सप्ताह पहिले भारतबाट आएका उनलाई बान्ता भएपछि तत्काल अस्पताल नलगेका कारण २५ वर्षीय युवकको मृत्यु भएको आरोप स्थानीयले लगाएका छन् ।

शनिबार राति एक्कासि बान्ता हुन थालेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले एम्बुलेन्स बोलाउन आग्रह गरेका थिए । एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीहरुसँग पीपीई नभएको भन्दै ती युवकलाई अस्पताल लगिएन । स्थानीय अगुवा विनय दीक्षितले बान्ता भएपछि उनलाई क्वारेन्टाइनमै जीवनजल खुवाएर राखिएको बताए । उनका अनुसार समयमै अस्पताल लैजान सकेको भए उपचार सम्भव हुन्थ्यो ।

तर रातिको समय र आवश्यक पर्ने स्वास्थ्य सामाग्री नभएकाले स्वास्थ्यकमीहरुले चाहेर पनि लैजान सकेनन् । नरैनापुरमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ । गाउँपालिका प्रमुख इस्तियाक अहमद साहले क्वारेन्टाइनमा लापर्बाहीका कारण युवकको मृत्यु भएको भन्दै स्थानीयहरु विवादमा उत्रिएको जानकारी दिए । नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा रहेका उनको आज (आइतबार) बिहान ४ बजे मृत्यु भएको थियो ।

पालिकाको ५ मटैयास्थित दिपेन्द्र प्रा.वि. को क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा आज संक्रमित भएको खुलासा भएको हो । बाँके नरैनापुरका २५ वर्षीय युवक बुधबार मात्र नेपाल आइपुगेका थिए । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका नरैनापुर–५ नयाँ बस्तीका उनको आइतबार बिहान मृत्यु भएको थियो ।

उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी मुम्बईबाट दुई साता लामो यात्रा गरेर नरैनापुर आएका थिए । लामो पैदल यात्राका कारण उनको खुट्टा सुन्निएको थियो । शनिबार राति उनलाई एक्कासी ज्वरो आयो । स्वासप्रश्वासमा समस्या भएपछि एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको हो । ‘अरु कुनै रोग भएजस्तो थिएन’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले भने, ‘राति एक्कासी ज्वरो आएको र वान्ता पनि गरेका रहेछन् । पछि स्वास्सप्रस्वासमा पनि समस्या देखिएछ ।’एम्बुलेन्स खोज्दाखोज्दै युवकको ज्यान गएको उनले बताए । तर क्वारेन्टाइनमा बसेकाहरुले समयमा उपचार नपाएर उनको मृत्यु भएको बताएका छन् ।

क्वारेन्टाइनमा बसेका उनलाई एक दिनअघि नै वाकवाकी लाग्ने समस्या थियो । शनिबार राति लगातार दुई घण्टा वान्ता गरेका थिए । तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीद्वय दिनेश मौर्य र प्रेम बुढा दुबै त्यहाँ थिएनन् । उनलाई अस्पताल लैजान खोज्दा पीपीई नभएको भन्दै एम्बुलेन्स पनि आएन । क्वारेन्टाइन व्यवस्थापन गरिरहेका नरैनापुर गाउँपालिका–६ का वडा सचिव जीवनलाल यादव पनि सम्पर्कविहीन भएको उनीहरुको आक्रोश छ ।

विहान १० बजेसम्म गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राबाहेक स्वास्थ्यकर्मी र अन्य कर्मचारी घटनास्थलमा नपुगेको बाँकेका पत्रकार विनय दीक्षितले बताए । क्वारेन्टाइनमा बसेकाहरुले असुरक्षित भएको भन्दै घर पठाउन माग गरेका छन् । ‘यो क्वारेन्टाइन असुरक्षित छ, हामीलाई घर नपठाए अन्दोलन गर्छौं’ क्वारेन्टाइनमा बसेका एक युवकले भनेका छन् ।

Related Articles

Back to top button
Close