समाचार

एकै छिन अगाडी बोल्दै गरेकी श्रीमतीको कोरोनाका कारण निधन भएपछि श्रीमान स्तब्ध हुँदै भने, हामी घरमै बसेकोलाई कसरि लाग्यो कोरोना ?

काठमाडौँ, । नेपालमा पहिलो पटक एक सुत्केरी महिलाको कोरोनाका कारण निधन भयो । उनको निधनले सबैतिर एउटै प्रश्न उब्जिएको छ । उनलाई कोरोना संक्रमण कसरी भयो । शिक्षण अस्पतालमा नर्मल अवस्थामा सुत्केरी भएकी उनी आफ्नो घर सिन्धुपाल्चोक गएपछि स्वास्थ्यमा समस्या आएको थियो । लकडाउनका कारण गर्भ जाँच गर्न र सुत्केरी अवस्थामा समस्या हुने भएकाले उनी काठमाडौंको गोंगवु क्षेत्रमा रहेको भाडाको कोठामा श्रीमानसंग बसेकी थिइन् । तरकारी पसल गरेका बसेका उनीहरुको एउटा ११ वर्षको अर्को छोरा पनि छ । छोरालाई घर पठाएर उनीहरु काठमाडौंमा बसेका थिए । गर्भवती अवस्थामा पनि महिलालाई कुनै स्वास्थ्य समस्या देखिएको थिएन ।

धुलिखेल अस्पताल लगिएको आधा घण्टामै महिलाको निधन भएपछि अहिले उनलाई संक्रमण कसरी भयो भन्ने कुराको अनुसन्धान सुरु भएको छ । उनी बसेको क्षेत्र गाेंगवु, सिन्धुपाल्चोक स्थित उनको घर र माइतीमा सिल गरिएको छ । धुलिखेल अस्पतालमा पनि सिल गरेर उनको उपचारमा संलग्न ३ जना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको छ । यस्तो अवस्थामा उनका श्रीमानले भने श्रीमतीलाई शिक्षण अस्पतालमै कोरोना सरेको हुनसक्ने आशंका गरेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा निधन भएको हो ।

मृतक महिलाका श्रीमानले भने त्रिवि शिक्षण अस्पतालमै पत्नीलाई संक्रमण भएको हुन सक्‍ने बताएका छन् । उनले लकडाउनका समयमा आफुहरु कतै नगएको र आफ्नो कोठामा पनि कोही मानिस नआएको बताएका छन् । कसैको संपर्कमा नभएको श्रीमतीलाई कोरोना सरेको कारण उनले शिक्षण अस्पताल नै भएको आशंका गरेका छन् । उनले अचम्म मान्दै भनेका छन् लकडाउनका बेला हामी घरमै बसेका थियौं । हामीले बाहिरबाट आएकालाई पनि भेटेका थिएनौं । टिचिङमै रहँदा उनलाई भाइरस सरेको हुनुपर्छ ।

लकडाउनका कारण सबैजना घर जाँदा पनि श्रीमतीकै अवस्थाका कारण आफुहरु छोरालाई घर पठाएर काठमाडौंमै बसेको उनका श्रीमानले बताएका छन् । चिकित्सकले महिलालाई सुत्केरी हुने मिति जेठ २२ लाई दिएको थियो । तर उनलाई वैशाख २३ गते नै ब्यथा लाग्यो । वैशाख २३ मा टिचिङ अस्पताल गएपछि २४ गते नर्मल डेलिभरी भएको उनको श्रीमानले बताए । अस्पतालले २५ गते नै अस्पतालले डिस्चार्ज दिएपछि काठमाडौंमा सुत्केरीलाई स्याहार पुग्दैन भनेर घर सिन्धुपाल्चोक गएको बताएका छन् । अस्पतालबाटै तयार भएर एम्बुलेन्समा सिन्धुपाल्चोक गएको उनको भनाई छ । श्रीमतीको अवस्था सामान्य भएकाले उनको माइतीवाट पनि सुत्करी भेट्न आएका थिए ।

वैशाख ३१ गते राति देखि श्रीमतीलाई सास फेर्न अप्ठेरो हुन थालेपछि जेठ १ गते बिहानै बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बोलेरो गाडीमा राखेर लगेको उनले बताएका छन् । स्वास्थ्य केन्द्रले एक्सरे गरेपछि छातीमा खराबी आएकाले सुविधा सम्पन्न अस्पतालमा लैजान दिएको सुझावका आधारमा धुलिखेल अस्पताल लगिएको उनको भनाई छ । अस्पतालको गेटमा पुग्नेबित्तिकै उनलाई निकै गाह्रो भएको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि उनको अस्पताल पुगेको आधा घण्टामै निधन भएको बताएका छन् ।

Related Articles

Back to top button
Close