समाचार

कोरोनाका कारण धुलिखेल अस्पतालमा निधन भनेकी महिलाको रिपोर्टको बारेमा आयो यस्तो जानकारी !

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको निधनको कारण कोभिड–१९ को परीक्षणपछि मात्र थाहा हुने बताएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महिलाको निधनका सम्बन्धमा विस्तृत विवरण लिइरहेकाले पछि मात्र आधिकारिक जानकारी आउने बताए । “महिलाको कोभिड– १९ सँगसम्बन्धी थप परीक्षण भइरहेका छन्, यो परीक्षण र सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र मन्त्रालयले आधिकारिकरुपमा कोभिड– १९ सँगको निधन हो वा होइन भन्ने कुरा निक्र्यौल गर्नेछ”,उनले भने ।

उनका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ वैशाख गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरीपछि ती महिलालाई २५ गते घर पठाइएको थियो । घरमा गएपछि ज्वरो, स्वासप्रश्वास जस्ता समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गराएकी महिलाको स्थिति जटिल बन्दै जाँदा धुलिखेल अस्पताल आउँदै गर्दा निधन भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

बाह्रबिसे स्वास्थ्य केन्द्रकी मेडिकल अधिकृत निशान्ता शर्माले सुत्केरीलाई घर लैजानुको कारणबारे थाहा नभएको बताइन्। ‘आर्थिक समस्या भएको भए रेडक्रसले नि:शुल्क एम्बुलेन्समा पठाउने जानकारी हामीले गराएका थियौँ,’ उनले भनिन्।

बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेका सचिव दुर्गा भण्डारीले सुत्केरी महिलाको परिवार जटिल आर्थिक समस्यामा नरहेको बताए। मृतक महिलाका श्रीमान् नेपाली सेना छाडेर अहिले सेक्युरिटी गार्डको काममा लागेको उनको भनाइ छ। ‘परिवारमा सासु, श्रीमान्, एउटा छोरा थिए। भर्खरै अर्को नवजात शिशु भर्खरै जन्मिएको भनेर काठमाडौंबाट आउनु भएको हो,’ उनले भने, ‘सुत्केरीलाई धेरै गाह्रो भएपछि अस्तपाल लगिएको हो।’

यसै क्रममा धुलिखेल अस्पतालमा निधन भएकी २९ वर्षिय सुत्केरीको निधनको कारण पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको विज्ञ टोली धुलिखेल गएका छन्। स्वास्थ्य मन्त्रालयको कोभिड—१९ नियन्त्रणका लागि बनाइएकोे इन्सिडेन्ट कमाण्ड सिष्टमअन्तर्गतको आइसिएस अपरेशनल टोलीका प्रमुख डा गुणराज लोहनीसहितको चिकित्सकीय टोली अनुसन्धानका लागि धुलिखेल अस्पतालमा गएको मन्त्रालयले जनाएको छ।

टोलीले ती महिलाको निधनको कारण लगायतका विषयमा आवश्यक विवरण संकलन गर्नेछन्। सुत्केरीको कोरोनाका कारण निधन भएको भन्ने खबर बाहिर आइरहेका बेला मन्त्रालयले थप अध्ययनका लागि टोली पठाएको हो। स्वास्थ्य मन्त्रालयले अस्पताल लैजादैँ गर्दा उनको मृत्यु भएको बताएको छ।

Related Articles

Back to top button
Close