समाचार

काठमाण्डौमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि, लकडाउनको प्रकृति परिवर्तन गर्दै गल्लिमा पैदल हिड्नेलाइ पनि पक्राउ गर्ने सरकारको निर्णय !

काठमाडौं । काठमाडौं लगायतका उपत्यकामा पनि कोरोना संक्रमित थपिन थालेपछि प्रशासनले लकडाउनको प्रकृति परिवर्तन गरेको छ । अहिले सम्म मुख्य सडकमा ध्यान दिएको प्रहरी प्रशासन अब काठमाडौं लगायत शहरका गल्लीमा पनि देखिने भएका छन् । अब उपत्यकाको शहरका गल्ली भित्र पनि पैदल हिडेको अथवा लकडाउन उल्लंघन गरेको फेला परे प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार एक सूचना जारी गरी लकडाउनमा अब गल्ली भित्र पनि नहिड्न र घरवाट वाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने भन्दै प्रशासनले सचेत गराएको छ । प्रशासनले गृहमन्त्रालयको निर्देशन अनुसार यस्तो सूचना जारी गरेको हो ।

गृह मन्त्रलायबाट प्राप्त निर्देशनअनुसार, शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सूचना जारी गरिएको छ । सूचनामा मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको उल्लेख गरिएको छ ।

प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । प्रशानसले अब जारी गर्ने पासको रंग पनि परिवर्तन गरेको जनाएको छ । अबको पासको रंग निलो हुने उल्लेख गरिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउनमा कडाइ

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले पाँच जनामा कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि लकडाउनलाई कडाइ गर्न लागेको छ ।

नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ लाई गरेको पिसिआर परीक्षणमा पाँच जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि लकडाउनलाई कडाइ गर्न लागेको हो । परीक्षण गरिएका ४८५ मध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । पोजेटिभ रिपोर्ट आएकामध्ये वडा नं ९ मच्छेगाउँका एक, वडा नं १ दहचोकका एक, वडा नं १२ बलम्बुका एक र दुई सशस्त्र प्रहरी बलमा कार्यरत व्यक्ति रहेका छन् । सशस्त्रका दुईमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको दुवाकोटमा बस्दै आएका थिए ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले नगरपालिकाभित्र तीन दिनका लागि लकडाउनलाई कडाइ गर्न लागेको जानकारी दिए । “भोलिदेखि तीन दिनसम्म नगरपालिकाभित्रका औषधी पसलबाहेक अन्य पसल र नगरपालिकाभित्र हुँदै आएका विकास निर्माणका कार्यलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेका छौँ”, उनले भने ।

बिरामी मानिस हिँडडुल गर्नुपरेमा सामाजिक दूरी कायम राखी, स्यानेटाइजर, माक्स र पञ्जा लगाएर मात्र हिँड्न आग्रह गरिएको प्रवक्ता महर्जनले बताए । नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै चेकजाँचको सङ्ख्यालाई समेत वृद्धि गरिएको जानकारी दिए ।

Related Articles

Back to top button
Close