समाचार

भारतले मिचेको कालापानी–लिपुलेक क्षेत्र नजिकै ‘सशस्त्र’ प्रहरीको गस्ती सुरु

नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङरु (गागा)मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (वीओपी)ले महाकाली नदी सीमाना वरपर गस्ती सुरु गरेको छ ।बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि गस्ती गरेको तस्वीर सरकारी समाचार एजेन्सी राससले सार्वजनिक गरेको छ ।

बिहीबारै सीमा जोडिएको महाकाली नदीमाथिको काठेपुल (सीतापुल)मा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्राडा इन्द्रजित राईसँग भारतीय एसएसबीका प्रतिनिधिले कुराकानी गरेका छन् । कुराकानीका क्रममा छाङ्रुस्थित सुरक्षा निगरानी पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द पनि सहभागी रहेका थिए ।

चौकी स्थापना भएको भोलिपल्ट सशस्त्र प्रहरीका जवानहरु आवश्यक हतियार र बन्दोबस्तीका सामान व्यवस्थापनमा व्यस्त रहे । आवश्यक हतियार र सामान नेपाली सेनाको हेलिकप्टरले केही माथि झारेको थियो ।

भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको स्थापना गरेको हो ।

सो स्थानमा हाल २५ जना सुरक्षाकर्मी छन् भने छिटै संख्या बढाएर १५० पुर्याइने बताइएको छ ।

बडु भन्छन्-“बल्ल राज्य व्युँझियो”

दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद दिलेन्द्र बडूले सरकार ढिलै भए पनि सीमा सुरक्षाका लागि बिउँझिएको बताए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा गठित छाया सरकारका गृहमन्त्री समेत रहेका बडूले भने, ‘त्यो ठाउँका जनताले अब राज्य अलि विउँझिएको होकि भन्ने ढंगले बुझेका छन् । राज्यलाई सीमा सुरक्षाको आवश्यकता ढिलै भए पनि महसुस हुनु सन्तोष कै कुरा हो । त्यहाँ बिओपीको स्थापनाले सीमा सुरक्षामा नेपालले गम्भीर बनेको भारतले पनि देख्छ । जनता पनि खुसी भएका छन् ।’

अहिले बिओपी स्थापना गरेको ठाउँबाट सीमा सुरक्षाको स्थायी प्रबन्ध भने नगुग्ने उनको बुझाइ छ । ‘यो प्र्रयाप्त हुँदैन । हाम्रो जति नजिक उपस्थिति भयो त्यतिनै भारतीयको गतिविधि नियन्त्रित हुन्छ । भारतको गतिविधि नियन्त्रण र सीमाको निरन्तर निगरानीका हिसाबले बिओपीको संख्या थप्नुपर्छ,’ सांसद बडूले भने ।

उनका अनुसार बिओपी स्थापना भएको ठाउँमा यसअघि अस्थायी रुपमा जनपथ प्रहरीको उपस्थिति छँदै थियो । बडूले भने, ‘ब्यासीबासी जाडो लाग्दा बेसी झर्छन्, गर्मी लाग्दा त्यहाँ जान्छन् । जनपथ प्रहरी पनि सँगसँगै आउने र जाने गथ्र्यो । त्यो स्थायी थिएन । बिओपी स्थापनापछि अब स्थायी सुरक्षाको प्र्रबन्ध हुने भएको छ ।’ तर उनलाई बिओपी स्थापना गरिएको ठाउँ उपयुक्त लागेको छैन ।

बडूले भने, ‘बिओपी राख्नुपर्ने ठाउँ कौवा हो । जहाँबाट कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको हाम्रो अहिले अतिक्रमित भएको क्षेत्र नजिक थियो । त्यसैले निगरानी र सुरक्षाका दृष्टिकोणले बिओपी बस्नुपर्ने कौवा क्षेत्र नै हो । अहिले छारुङ क्षेत्रमा बिओपी स्थापना भएको हो ।’

छारुङसँगै कौवा र त्यसको दायाँतिर रहेको तिङ्करमा पनि बिओपी राख्नुपर्नेमा उनको जोड छ । ‘अहिले बिओपी राखेको ठाउँ गाउँको नजिक छ । त्यहाँबाट कालापानी १२ किलोमिटर टाढा छ भने लिम्पियाधुरा कति टाढा रह्यो रह्यो,’ बडूले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरामा के गतिविधि भइरहेको छ भनेर हेर्नका लागि कौवामा पुग्नुपर्छ । तिङ्कर, कौवा र छारुङलाई सुरक्षा निगरानीभित्र राख्नुपर्छ ।’

उनका अनुसार त्यसका लागि बिओपीको संख्या र बिओपीमा रहने सुरक्षाकर्मीको संख्या बढाउनुपर्छ ।बडूले भने, ‘जसरी भारतमा बाह्रै महिना बस्छन् । हाम्रोमा पनि बाह्रै महिना बस्ने गरी त्यहाँको भौगोलिक अवस्था अनुसारको भौतिक संरचना बनाउनै पर्छ । बाटो नहुँदासम्म हेलिकप्टरबाट भए पनि सुरक्षाकर्मीलाई समस्यामा पर्दा ल्याउने सबै व्यवस्था मिलाउनुपर्छ । भारतले पनि पहिला यस्तै गरेको थियो । अहिले मात्र सडक पुगेको हो ।’ यस्तै उनका अनुसार दार्चुला– तिङ्कर मोटरबाटो पहिलेदेखि निर्माणाधीन छ ।

Related Articles

Back to top button
Close