समाचार

गहभरी आँशु पार्दै भारत फर्किए नेपाल छिरेका २६ नेपाली

रौतहट । लकडाउनको अवधिमा लुकिछिपी नेपाल आइपुगेका नेपालीहरुले आफुहरुलाई नेपालकै क्वारेन्टाइनमा राख्न नेपाल सरकारसँग आग्रह गरेका छन् ।भारतको अमृतसरबाट नेपाल आएका उनीहरुलाई नेपाल छिर्ने क्रममा सुरक्षाकर्मीले पक्राउ गरेका थिए । यसरी पक्राउ पर्नेहरुमा जिल्लाको ईशनाथनगरपालिका २६ जना स्थानीयहरु रहेका थिए ।उनीहरुलाई सो नगरपालिकाको वडा नम्बर २ स्थित मनमोहन स्मृति गेटमा राखिएको थियो । यसरी पक्राउ परेका सबैलाई भारतीय सीमा सुरक्षावलको जिम्मा लगाएर भारतनै फिर्ता पठाइएको सो नगरपालिकाका नगर प्रमुख सन्तोषकुमार मेहत्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल उनीहरुलाई भारतको कवैया गाउँको क्वारेन्टाइनमा राखिएको छ । आफूले आफ्ना नागरिकलाई आफ्नै नगरपालिकाको क्वारेन्टाइनमा राख्छुँ भन्दा पनि नपाएको नगर प्रमुख मेहत्ताले गुनासो गर्नुभयो ।‘मेरो नगरवासीलाई मेरै नगरको क्वारेन्टाइनमा राख्छुँ भन्दा पनि पाइन, यो कस्तो नियम हो ? उहाँले प्रश्नगर्नुभयो, ‘सबैलाई क्वारेन्टाइनमा राखेर पीसीआर विधिद्धारा परीक्षण गरेर नजिता आएपछि मात्र घर फर्काउन हामीतयार थियौँ तर स्थानीय प्रशासनले मानेन र वाध्य भएर उनीहरुलाई भारत स्थित क्वारेन्टाइनमा पठायौँ ।’

उनीहरुलाई भेट्न नगर प्रमुख मेहत्ता मनमोहन स्मृतिगेटमा पुग्नु भएको थियो । उहाँले उनीहरुलाई खाना र पानीको व्यवस्था पनि गरि दिनुभएको थियो । उहाँले भारत लगायत धेरै देशमा रहेका नगरवासीले आफुलाई नगर फिर्ता गराउन आग्रह गरेपनि सरकारको नीतिको कारण नसकेको बताउनु भयो ।सरकार यसतर्फ कुनै पहल नगर्दा लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढेकाले यसले झन स्वास्थ्य जोखिम निम्त्याउने हुनाले सरकारले त्यस्ता नागरिकलाई सुरक्षित साथ नेपाल प्रवेश गर्न दिएर यहीँको क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

यसरी नेपाल प्रवेश गरेका युवाहरुले नगरप्रमुख मेहत्तालाई आफुलाई नेपालकै क्वारेन्टाइनमा राख्न आग्रह गरेका थिए । भारतमा काम बन्द भएपछि भोकभोकै परेकाले नेपाल आएको मुकेश प्रसाद पटेलको भनाइ छ ।मेहन्दी लगाउने कामगर्ने उनीहरुले कहिले पैदल त कहिले गाडी गरेर बल्लतल्ल नेपाल आएको बताउँदै आफूलाई नेपालकै क्वारेन्टाइन राख्न आग्रह गरेका थिए ।‘बरु हामी पानी मात्र खाएर बस्छौँ तर हामीलाई नेपालकै क्वारेन्टाइनमा राखियोस्’ उनले भने, ‘भारतको क्वारेन्टाइनमा धेरै दुःख दिन्छ रे, नेपालीहरु लाई दुव्र्यवहार गर्छ रे । त्यसैलेले बिन्ती छ हामीलाई नेपालकै क्वारेटाइनमा राखिदिनुस् ।

’त्यस्तै उनीसँगै आएका नितेशकुमार पटेलले आफुहरु क्वारेन्टाइनको हरेक नियम पालना गर्न तयार रहेको भन्दै आफुहरुलाई नेपालकै क्वारेन्टाइनमा राख्न आग्रह गरे ।‘हामी भारतबाट आएका हौँ, संक्रमण पनि भएको हुनसक्छ’ उनले भने, ‘ हामीलाई नेपालकै क्वारेन्टाइनमा राखेर हाम्रो परीक्षण गरियोस् । संक्रमण भेटिए यहीँ उपचार गराइयोस् ।’संकटको बेला देशले आफ्ना नागरिकसँग अनागरिकको व्यवहार गरेको उनीहरुको भनाइ छ । उनीहरु भावुक हुँदै भन्छन् , ‘संकटको बेलाआफ्नो देशले त वास्ता गरेन् झन अर्काको देशले के गर्ला ? बरु हामीलाई पानी बिस्कुट ख्वाइयोस् तर नेपालमै राखियोस् ।

हामीलाई गैर नेपालीको व्यवहार नगरियोस् ।’यता प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे भने नेपाल–भारत सरकार स्तरीय निर्णय भए अनुसार बोर्डर सिल भएको अवस्थामा यता रहेका भारतीयलाई यतै र भारतमा रहेका नेपालीलाई उतै व्यवस्थापन गर्ने गरिएको बताउनुभयो ।उहाँले हाल रौतहटमा २ सय हाराहारी भारतीय विभिन्न क्वारेनटाइन रहेको जानकारी दिदैँ लुकिछिपी नेपाल छिरेकालाई पनि समातेर भारततर्फ बुझाइरहेको जानकारी दिनुभयो ।यसरी भारतीय सीमा सुरक्षावलको साथमा भारत फर्काइएका नेपालीहरु गहभरी आँशु लिदैँ फर्किएका थिए । जाँदाजाँदै उनीहरुले चाँडैनै यो समस्याको समाधानको लागि नेपाल सरकारसँग अनुरोध गरेका थिए ।

Related Articles

Back to top button
Close