समाचार

अब एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध : सबै पास रद्ध गर्ने गृहमन्त्रालयको निर्णय

काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेलगत्तै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जान कडाई गरेको छ। गृह मन्त्रालयले मंगलबार एक जिल्लाबाट अर्को जिल्लामा जान जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ।

यो निर्णय बिहीबारदेखि लागु हुनेछ। गृहले उपत्यकामा काम गर्ने सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरेको छ। सम्बन्धित नियामक निकायबाट पास लिएको हुनुपर्ने व्यवस्था गरिएको गृहका एक अधिकारीले जानकारी दिए।

उपत्यका बाहिरका जिल्लाले समेत अन्तर जिल्ला पास जारी गर्न पाउने छैनन्। अर्को जिल्ला जाने पास जारी गर्नु परे त्यो जिल्लाको प्रशासनसँग समेत अनुमती लिनुपर्नेछ।

यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए। गृह मन्त्रालयमा गृह सचिव र तीनवटा सुरक्षा निकायका प्रमुखबीच भएको बैठकपछि यस्तो निर्णय भएको हो।

अब कुनै पनि कार्यालयका कर्मचारीले आफ्नो कार्यालयको परिचय पत्र देखाएर आवतजावत गर्न पाउने छैनन्। बैंक तथा वित्तिय संस्थाका कर्मचारीले समेत राष्ट्र बैंकबाट जारी भएको पास लिनु पर्नेछ। अन्य उद्योगधन्दा तथा कार्यालयले नियामक निकायको पास अनिवार्य देखाउनु पर्नेछ। नयाँ व्यवस्थाका बारेमा मंगलबार साँझ नै सबै सुरक्षा निकायलाई गृह मन्त्रालयले निर्देशन दिइसकेको छ ।

उपत्यकाका ३ जिल्लाका लागि भने यो नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।

२६ गतेबाट सरकारले लकडाउनलाई केही खुकुलो बनाएको थियो। तर उपत्यकामा सवारीको चाप ह्वात्तै बढेको थियो। मंगलबार मन्त्रिपरिषद्मा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन धेरै खुकुलो बनाएको भन्दै असन्तुष्टी जनाएका थिए।

Related Articles

Back to top button
Close