समाचार

भारतबाट करिब ८० हजार मान्छे नेपाल आउने तयारीमा

समय बदलिएको छ । मानव सोच, अवधारणा र इच्छाहरु पनि बदलिएका छन् । हिजो शहर जान चाहने मानिस आज त्यही शहर क्षणभर छोड्न तयार छन् । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसका कारण जारी भएको लकडाउनले शहरमा बस्ने धेरैको गाँस, बास र कपास खोसिएको छ । आयआर्जनको अवसर प्राप्तिको थलो ठानेर शहर पसेकालाई अहिले यसबाट निकै सास्ती भएको छ ।

लकडाउनले हिजो युरोप, अमेरिका आकर्षित हुने मानव सोच आज विकर्षित भएको छ । अकालमा मृत्यु अति विकसित देशमा पनि हुँदोरहेछ भन्ने बुझाइ भएको छ । सम्पन्नताले मात्र मानव जीवन सुरक्षित हुन्नरहेछ भन्ने स्पष्ट भएको छ । अमेरिका, बेलायत, जर्मनी, इटाली, फ्रान्स, स्पेन, अष्ट्रेलिया, फिलीपिन्स पुगेका नेपालीहरु आफ्नो मातृभूमि आउन आतुर छन् ।

आजभोलि नै भारतबाट करिब ८० हजार मान्छे नेपाल आउने तयारीमा छन् । विभिन्न देशबाट स्वदेश फर्किन पाऊँ भन्दै प्रवासी नेपालीले राजदूतावासमार्फत नेपाल सरकारलाई आग्रह गरिरहेका छन् । खाडी मुलुक त नेपालीको झनै रोजगारीका लागि बाध्यकारी बसाइ बन्दै गएको छ । स्वदेश तथा विदेशमा जब कोरोना भाइरसका बारेमा नागरिकहरुले बुझ्दै गए तब उनीहरुको गाउँ फर्कने क्रम शुरु भयो । गाउँ नै जीवन सुरक्षाको उपयुक्त भूमि हो भन्ने उनीहरुलाई लागेको छ । शहरको जीवन बन्धकजस्तो लागेको छ, धेरैलाई । लकडाउनमा भारत तथा तेस्रो मुलुकबाटै सङ्कटपूर्ण यात्रा गरेर भए पनि गाउँ भित्रिनेको क्रम छुटेको छैन । लामो समयदेखि गाउँ छाडेर स्वदेश तथा विदेशमा रहेका नेपाली यो महामारीबाट बच्न आफ्नै गाउँठाउँ सम्झना थालेका छन् ।

बन्दाबन्दीको अवधि दुई महिना पुग्दैछ । विकसित देशमा उत्तम जीवन जिउने सपना बोकेर प्रवासमा गएका नेपालीहरु नेपाल फर्कने योजनामा छन् । सिङ्गो विश्व बन्दाबन्दीले गर्दा नेपाल फर्कने उनीहरुको योजना बन्धकमा परेको छ । धेरै नेपालीले सामाजिक सञ्जालमार्फत नेपाल फर्कने इच्छा व्यक्त गरेका छन् । स्वदेशमा रहेका धेरैले पनि आफ्नो गाउँ जान पाएका छैनन् ।

बन्दाबन्दीको समयमा घर जान हिँडेका तर अलपत्रका परेकालाई सबै तहका सरकारका सहयोगमा गाउँ पु¥याइएको छ । गाउँमा पुग्नेले यतिबेला निकै सुरक्षित भएको महसुस गरिरहेका छन् । शहरमा बस्नेहरु बन्द कोठाको बसाइलाई बन्दीगृह ठानिरहेका छन् । पट्यारलाग्दो बसाइबाट उत्पादनका धेरै कामहरु बन्द भएका छन् ।

नेपालको पूर्वी भेगका शहर तथा बजारमा व्यापार गर्न हिँडेका तिला गाउँपालिका–४ जुम्लाका नन्द सुनारले कोरोनाबाट बच्ने सुरक्षित ठाउँ नै गाउँ ठानेर निकै दुःखकष्टका साथ मातृभूमि फर्केको बताउनुभयो । स्वदेशका विभिन्न भूभागबाट फर्केर कर्णालीका गाउँ फर्कने क्रम निरन्तर छ ।

शहर विस्तारै खाली भइरहेका छन् । गाउँमा भने मान्छेको बाढी नै छ । हिँडेर वा अन्य कुनै माध्यमबाट शहरबाट गाउँ छिर्ने नागरिक कमी छैन । हजारौँको सङ्ख्यामा मानिस गाउँ पसिसकेका छन् । जसले गर्दा गाउँमा मानिसको भीड छ । यसको प्रमुख कारण नै कोरोना भाइरसको विश्वव्यापी महामारीको आतङ्क हो ।

विशेषगरी नेपाल गाउँ नै गाउँले बनेको देश भएका कारण यहाँ शहरभन्दा गाउँमा मान्छेको चाप बढेको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत बताउनुहन्छ । “यो विपत्तिले धेरैको शहर पुग्ने रहर कोरोना कहरमा परिणत भएको छ”, उहाँ भन्नुहुन्छ, “शहरबाट फर्कनेले कोरोना भाइरसको गलत कोशेली नल्याए गाउँ सुरक्षित नै छन् ।”

नेपाल सरकारले गत चैत ११ गते लकडाउन गर्नुपूर्व र त्यसभन्दा पछि नेपालका प्रमुख शहर, काठमाडौँ, पोखरा, वीरगञ्ज, विराटनगर, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेतबाट हजारौँ नागरिक गाउँघर फर्के । कर्णाली प्रदेश सरकारले चैत ८ गते नै स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी मातृभूमि फर्कन अपिल ग¥यो । सोही अपिलअनुसार नेपालका विभिन्न शहरहरुमा काम गर्ने, भारतलगायत तेस्रो मुलुकका नागरिकको कर्णाली फर्कने क्रम ह्वात्तै बढ्यो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनले धेरैको रोजीरोटी खोसेको छ । दैनिकी असहज बन्दै गएको छ । स्वदेश तथा विदेशमा धेरै नागरिक अलपत्र अवस्थामा छन् । उद्योगधन्दा, कलकारखाना, विभिन्न आयोजना, होटल, पसलमा काम गर्ने नागरिकहरु रोजगारविहीन भएका छन् ।

सबै क्षेत्रको कामधन्दा तथा व्यापार व्यवसाय बन्द हुँदा अर्थतन्त्र चौपट बन्दै गएको छ । शहर यतिबेला दिउँसै सुतेको भान हुन्छ । अत्यावश्यक वस्तु उपभोगका लागि सरकारले तोकेको समयमा नागरिकको सामान्य आवतजावतबाहेक बाँकी पूरै समय शहर सुनसान देखिन्छ । लकडाउनपूर्व मान्छेको भीड र कोलहालपूर्ण शहर यतिबेला खाली छन् । सडकमा गाडीको घ्याँ–घ्याँ र घुँ–घँु आवाज सुन्न छाडिएको छ । यसको छेउछाउ नजिकका रुखहरुमा कोइलीको कुहुँ..कुहँु… र केही चराका चिरबिर आवाज भने राम्रैसँग सुन्न पाइन्छ । फाँटहरु हरियाली बन्दै गएका छन् ।

लकडाउनले फोहरमा कमी आउँदा नदी तथा खोलानाला कञ्चन भएर बगेका छन् । न यहाँ ध्वनि प्रदूषण छ न त वायु प्रदूषण नै । ध्वनि, वायु, जल, जमिनलगायतका वातावरणीय प्रदूषण ७५ प्रतिशतभन्दा बढी घटेको मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्काय, वातावरण विज्ञानका उपप्रध्यापक खगेन्द्र रावलले राससलाई जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै उपप्रध्यापक रावलले भन्नुभयो, “यो दुई महिनाको लकडाउनमा कार्बन तथा अन्य प्रदूषण उत्सर्जन शून्यजस्तै छ । औसतमा एक जनाले १०० चुरोट खाएजत्तिकै सबैभन्दा बढी प्रदूषण हुने चीनसहित विश्वकै तापक्रम घट्दो अवस्थामा छ । सुर्खेत तथा काठमाडौँको तापक्रम र प्रदूषण निकै घटिरहेको छ । जलवायु सफा छ । पानी परेको छ । हराएको जैविक विविधतामा सुधार आएको छ । नेपालमा मात्र हैन, भारतकै नदीनाला पनि सफा भएका छन् ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले मान्छेको चापले बढ्ने तापक्रम र मान्छेको सघन आवातजावतले कोरोना भाइरससहित सबैखाले सर्ने रोगको जोखिम बढ्ने बताउनुभयो । “यो समस्याबाट बच्नका लागि पहिलो लकडाउन, दोस्रो सामाजिक सचेतना र तेस्रो अस्पतालको शीघ्र तयारी हुनुपर्दछ”, निर्देशक रावलले भन्नुभयो, “यसलाई मध्यनजरगरी कोरोना भाइरसको व्यापक परीक्षण आवश्यक छ ।”

लकडाउन खुकुलो भएको भन्दै प्रधानमन्त्री ओली मन्त्रीसँग झोक्किए, कडा पार्न निर्देशन

प्रधानमन्त्री केपी ओली काठमाडौं उपत्यकालगायत विभिन्न सहरमा लकडाउन खुकुलो भएको भन्दै आक्रोशित हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंमा मानिस र गाडी सडकमा निस्केको देख्दा देश लकडाउनमा छ भन्ने विश्वास गर्न नसकिने भन्दै मन्त्रीहरूसँग असन्तुष्टि जनाउनु भएको हो । प्रधानमन्त्री ओलीले लकडाउनलाई कडा पार्न निर्देशन दिनु भएको छ ।

सरकारी कार्यालय तथा वित्तीय संस्थाहरूको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको प्रधानमन्त्री ओलीको भनाइ थियो । यसरी लकडाउन खुकुलो बनाउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उहाले चिन्ता व्यक्त गर्नुभयो । मंगलबार मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रिपरिषद्को बैठकमा लकडाउनबारे छलफल गर्ने कुनै एजेन्डा नभए पनि प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारिएको विषय उठान गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । एक मन्त्रीका अनुसार बैठकमा ओलीले ‘काठमाडौंमा लकडाउन छ र रु’ भन्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली असन्तुष्ट भएसँगै लकडाउन कडा हुने सम्भावना छ । सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउनको समय थप गरेको छ । पछिल्लो समय भारतबाट ह्वारह्वार्ती आएका नेपालीमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको पुष्टि भएको छ ।

आइतबार देखि सरकारी कार्यालय तथा अन्य क्षेत्रहरु खुलिरहेका छन्। सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यकबाहेकका सामग्री पसलसमेत खुलेका छन् ।

एकैपटक ५७ नयाँ सङ्क्रमित भेटिए

मुलुकका विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको सङ्क्रमण भएको बताउनुभयो । यससँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार १३४ जना सङ्क्रमित भेटिएका थिए ।

सहप्रवक्ता डा अधिकारीका अनुसार सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ३३ जना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्किसकेका छन् ।

सहप्रवक्ता डा अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको सङ्ख्यामा सङ्क्रमित पहिलोपटक सङ्क्रमित भेटिएको बताउनुभयो । ‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”, उहाँले भन्नुभयो, ‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमति फेला परेका हुन् ।” उहाँले धमाधम सङ्क्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताउनुभयो । मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभरि पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ ।

Related Articles

Back to top button
Close