समाचार

भोलि देखि काठमाडौं सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने

काठमाडौं । आइतबारबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालय सन्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने भएको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । अधिकांश कर्मचारीहरु घरमै बसिरहेका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् । राजधानी दैनिकमा यो खबर छ ।

त्यस्तै मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीका अनुसार सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए । शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्था आंशिकरुपमा खुलेका थिए । उनीहरुले ग्राहकलाई बढीभन्दा बढी विद्युतीय माध्यममार्फत कारोबार गर्न आग्रह गरेका थिए । सरकारको पछिल्लो निर्णयलगत्तै बैंकका शाखा खुल्ने निर्णयले ग्राहकलाई थप राहत पुग्ने विश्वास लिएको छ ।

Related Articles

Back to top button
Close