समाचार

विदेशमा रगत-पसिना बगाउने नेपालीलाई तत्काल उद्दार गरियोस् : गोकर्ण विष्ट

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टले विदेशमा अ ल पत्र परिरहेका नागरिकको उद्दारका लागि कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै बिष्टले उनीहरूको उद्दार गरी नेपाल ल्याउन सरकारले अबिलम्ब प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् । उनले लेखेका छन् – ‘यति बेला वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिक दाजुभाई-दिदीबहिनीहरु कोभिड-१९ का कारण जोखिममा छन् । खास गरी करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आम माफीमा भाग लिएका, भिजिट भिसाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन् ।’

‘विभिन्न देशमा खाने-बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा परेको छ । परदेशमा रगत-पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन्,’ बिष्टले लेखेका छन्, ‘उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन् ।’

बिष्टले थपेका छन् – ‘यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बनोस् ।’

Related Articles

Back to top button
Close