समाचार

आर्थिक संकट र बेरोजगारी बढ्यो, अब लकडाउन खुकुलो बनाउनुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । नेपालमा अहिले कोरोना संक्रमितहरुको संख्या ८२ पुगेको छ । यो बीचमा सरकारले यस भन्दा पहिले नै जारी गरेको लकडाउन अबको दुई दिनपछि अर्थात २५ गते समाप्त हुँदैछ । तर यो बीचमा नेपालमा केही दिनमा ठुलो संख्यामा कोरोना संक्रमित फेला परेका छन् । यस बीचमा धेरैलाई सरकारले फेरि लकडाउन थप्छ कि भन्ने आशंकाले सताएको छ ।

जानकारी अनुसार थप १५ दिन लकडाउन थपिन सक्छ । तर, गृहमन्त्री रामबहादुर थापा बादलले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बन्ने संकेत गर्नुभएको छ ।

मंगलबार (आज) प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा उहाँले लकडाउनले आर्थिक संकट बढी देखिएको भन्दै यसलाई शर्तसहित खुकुलो बनाउनुपर्ने कुरामा जोड दिनु भएको हो । मन्त्री थापाका अनुसार लकडाउन नै कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको एक उपाय हो ।

तर यसले नेपालमा मात्रै नभई विश्वभर आर्थिक संकट निम्त्याएको छ । उहाँले बेरोजगारीलगायतका समस्या पनि देखिएको जानकारी गराउनुभयो । अहिले मान्छेहरु गाउँ फर्किनुको मुख्य कारण रोजगार गुम्नु पनि रहेको उहाँले जिकिर गर्नुभयो । कोरोना अन्तर्राष्ट्रिय संकट भन्दै मन्त्री थापाले यसका कारण आर्थिक संकट र सामाजिक र राजनीतिक असन्तोष निम्तिएकोतर्फ संकेत गर्नुभयो ।

कोरोनाकै कारण अहिले सामाजिक र आर्थिक असन्तोष विकास हुँदै गएको उहाँको बुझाई रहेको छ । लकडाउन २५ गते सकिने वा थपिने भन्ने विषयमा उहाँले कुनै जानकारी दिनुभएन् ।

Related Articles

Back to top button
Close