समाचार

कोरोनालाई जितेर घर फर्किएका काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका १ जनामा पुन: कोरोना पोजेटिभ

काठमाडौँ । सनसिटी अपार्टमेन्टका कोरोना मुक्त भएका एक जनामा पुन: कोरोना संक्रमण देखिएको छ ।डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा अपार्टमेन्टमा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो ।उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनको फलोअप आउँदा पीसीआर विधिबाट पुन: परीक्षण गरिएको थियो ।त्यस्तै नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको छ ।

डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उनीहरु तीनै जनालाई पुनः अस्पताल भर्ना गरिएको समेत मन्त्रालयले जनाएको छ।’दुईपटक सम्म परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएर डिस्चार्ज भइसकेका तीन व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘रौतहटका २१ वर्षीय पुरुष र अर्का भारतीय नागरिकलाई नारायणी अस्पताल तथा काठमाडौं सनसिटी अपार्टमेन्टका संक्रमितलाई पाटन अस्पतालमा भर्ना गरिएको छ।’

जनस्वास्थ्य विज्ञहरूका अनुसार एकपटक कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिनु थप जोखिमपूर्ण हुन्छ। ‘डिस्चार्ज भएको व्यक्तिमा ३ कारणले पुनः पोजेटिभ देखिन सक्छ,’ एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘उसको शरीरमा भाइरस कम भएको तर पुनः जाँच गर्दा भाइरसको लोड वृद्धि हुनु एक कारण मान्न सकिन्छ।’ यसैगरी, कोरोना पोजेटिभ भएका व्यक्तिमा पनि ल्याब परीक्षणका क्रममा त्रुटि हुँदा पनि डिस्चार्ज भएका व्यक्तिमा पुन कोरोना देखिन सक्ने ती जनस्वास्थ्य विज्ञको भनाइ छ।

Related Articles

Back to top button