समाचार

देशभर स्कूलको अनलाइन कक्षाको शुल्क तिर्नु नपर्ने शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं – शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई कुनै कक्षा र तहमा नयाँ भर्ना नलिन निर्देशन दिएको छ ।सोमवार मन्त्रीस्तरीय निर्णय गरी नयाँ भर्नासँगै अनलाइन पठनपाठनका नाममा बैंक खातामा रकम जम्मा गर्न लगाउने काम पनि नगर्न निर्देशन दिएको छ ।

लकडाउन जारी रहेपनि केही दिनयता केही निजी विद्यालयले अनलाइनमार्फत भर्ना लिन थालेका थिए । सरकारी विद्यालयले पनि आफैं उपस्थित भएर वा टेलिफोन सम्पर्कमार्फत भर्ना लिन सुरू गरेका थिए ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन जारी रहेको र लामो समयदेखि विद्यालयमा पठनपाठन बन्द रहेको अवस्थामा सरकारले अर्को निर्णय नगर्दासम्म भर्ना र शुल्क लिने काम बन्द गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन्।

मन्त्रालयले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसइई), ११ र १२ कक्षाका परीक्षाहरू स्थगित रहेको र अब के गर्ने भन्ने सन्दर्भमा अध्ययन भइरहेको पनि जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले भने केही दिनअघि १० र १२ कक्षाको परीक्षाका लागि अहिले कायम भएका केन्द्रबाट १ घण्टा टाढासम्मको दूरीमा उपकेन्द्रहरु कायम गर्न जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको थियो ।

शिक्षा मन्त्रालयले माध्यमिक तहसम्मको आवासबाहेक १ महिनाको सबै शुल्क फिर्ता गर्न पनि निर्देशन दिएको छ । सरकारको निर्णयअनुसार शुल्क मिनाहा गरी अभिभावक र स्थानीय तहलाई जानकारी दिन निजी विद्यालयलाई निर्देशन समेत दिएको छ ।

Related Articles

Back to top button
Close