समाचार

बाँके नेपालगंजमा थप ७ जना संक्रमित भेटिए, बाँकेमा मात्र २३ पुगे

बाँकेको नेपालगञ्जमा पुनः आज सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताएका छन् ।

उनका अनुसार २२, ३० र ४० वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका छन् । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।

Related Articles

Back to top button
Close