समाचार

आजबाट नेपालगञ्जमा ३ दिनसम्म कर्फ्यू लाग्ने ! कर्फ्युको बेला के गर्न पाइन्छ के पाइदैन ?

नेपालगञ्ज । कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा भोलिदेखि कर्फ्यु लगाउने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गर्दै कफ्र्यु लगाउने निर्णय गरेको हो ।

संघीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनु भयो । कर्फ्युको समयमा नेपालगन्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने प्रजिअ खड्काले बताउनु भयो ।

बाँकेमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसहितको टोलीले सोमबार नेपालगञ्ज पुगेर कम्तीमा तीन दिन कर्फ्यु लगाउन जिल्ला प्रशासनलाई सुझाव दिएको थियो ।

बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।

सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।

उपमहानगरसँग अन्य पालिकाले बढाए दूरी

कोहलपुर–कोरोना संक्रमित भेटिएपछि उपमहानगरपालिकासँग छिमेकी पालिकाले दूरी वढाएका छन् । दुई दिनमा मानिसमा कोरोना संक्रमण देखिएपछि छिमेकी नगरपालिका र गाउँपालिकाले आवतजावतमा पूर्ण रोक लगाएका छन् ।

लकडाउन कडा बनाउनाका साथै दक्षिणतर्फ भारतको सीमा नाका, उत्तरतर्फ कोहलपुर र राप्ती सोनारी गाउँपालिका तथा पश्चिमतर्फ सीमा जोडिएको उपमहानगरपालिका क्षेत्र पूर्ण रुपमा बन्द गरिएको डुडुवा गाउँपालिकाअध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

यसैगरी जानकी र खजुरा गाउँपालिकाले नेपालगञ्जतर्फका नाका बन्द गरेर केही समयका लागि नेपालगञ्ज आवतजावतमा रोक लगाएका छन् । सबै पालिकाले अत्यावश्यक कामबाहेक आवतजावत रोकिएको जनाएका छन् । नेपालगञ्जतर्फबाट आउने तरकारीलगायत खाद्य वस्तुलाई प्रवेशमा रोक लगाइएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन माइकिङ गरी सूचना जारी गरिएको र नयाँ मानिस कहीँकतै फेला परेमा क्वारेन्टाइन पठाउन भनिएको स्थानीय समाजसेवी एवं पूर्वप्रहरी निरीक्षक ढाकाराम खत्रीले बताउनुभयो ।

सङ्क्रमितको संसर्ग र सम्पर्कमा आएकाको खोजी गरी परीक्षण गर्न आग्रह

प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोरोना सङ्क्रमित देखिँदैमा त्रसित नभई संयमित हुन आग्रह गर्नुभएको छ । बाँकेमा १६ जना कोरोना सङ्क्रमित भेटिएपछि अवस्था बुझ्न नेपालगञ्ज आउनुभएका मन्त्री बरालले जिल्ला प्रशासन कार्यालय बाँकेमा हिजो आयोजित जिल्ला सुरक्षा समन्वय बैठकमा धैर्यका साथ सबैले आआफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मन्त्री बरालले सङ्क्रमितको संसर्ग भएका र सम्पर्कमा आएका सबै व्यक्तिको खोजी गरी परीक्षण गर्न आग्रह गर्दै भन्नुभयो,‘सङ्क्रमित फेला पर्दैमा आत्तिनुपर्ने अवस्था छैन, सङ्क्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्नुस्, त्यसका लागि आवश्यक सामग्री अभाव हुँदैन ।’
सम्भावित जोखिमलाई ध्यानमा राखी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितलाई उपचारको व्यवस्था गरी जोखिम बढ्न नदिन आवश्यक सम्पूर्ण तयारी गरिएको उहाँको भनाइ छ ।

मन्त्री बरालले कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरणसहितको सेवा सुविधा प्रदान गरिएको जिकिर गर्नुभयो ।

आजै जिल्ला स्वास्थ्य कार्यालय र भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीसँग छलफल गर्दै मन्त्री बरालले विपद्का बेला स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ आफ्नो योगदान गर्नुपर्ने बताउनुभयो । बाँकेमा कोरोना सङ्क्रमणको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी गराउनुभएको थियो । नेपालगञ्जमा भेटिएका १६ कोरोना सङ्क्रमितलाई प्रदेश सरकारले स्थापना गरेको आइसोलेशन अस्पतालमा राखेर उपचार शुरु गरिएको छ ।

Related Articles

Back to top button
Close