समाचार

सरकारको निर्देशन उद्योगीले मानेनन्, लकडाउनमा ५० प्रतिशत मात्रै तलब

काठमाडौं। सरकारको निर्णय विपरित उद्योगी व्यवसायीहरुले लकडाउन अवधिमा श्रमिक तथा कर्मचारीहरुलाई ५० प्रतिशत मात्र तलव भुक्तानी गर्ने भएका छन्। लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेका कारण शत प्रतिशत तलव भुक्तानी गर्न नसक्ने उनीहरुको भनाइ छ।

सरकारले यसअघि नै उद्योगीलाई लकडाउनको अवधिमा ५० प्रतिशत र उद्योग संचालनमा आएपछि ५० प्रतिशत तलब दिन भुक्तानी दिन निर्देशन दिएको थियो।सरकारको निर्देशन आएपछि निजी क्षेत्रका व्यवसायिक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले लकडाउनको अवधिमा अधिकतम ५० प्रतिशत मात्रै तलब दिने निर्णय गरेका हुन्।

छाता संगठनहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आफ्ना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको जनाएका छन्।

‘अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट मिति २०७७ वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यानमा राखी उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी नेपाल सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्ने व्यवस्थाका लागि नेपालका सम्पूर्ण निजी क्षेत्रको तर्फबाट नेपाल सरकार समक्ष अनुरोध गर्ने समेत जारी विज्ञप्तिमा उल्लेख छ।

Related Articles

Back to top button
Close