‘चीनले काेराेनासँग जाेडिएका जानकारी लुकाउने र भ्रममा पार्ने काेसिस गर्याे’
काठमाण्डौ – अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले कोरोना भाइरस फैलिनुमा फेरि एक पटक चीनमाथि आरोप लगाएका छन् ।एबीसी न्युजसँग कुराकानी गर्दै विदेश मन्त्री पोम्पियोले भने, ‘त्यो देश (चीन) सँग यो महामारीलाई रोक्ने मौका थियो, जसले विश्व नै सिकार भएको छ । तर उसले यो जानकारीलाई लुकाउने र मानिसहरुलाई भ्रमित गर्ने कोसिस गर्याे ।’
ट्रम्प प्रशासनले पछिल्ला केही हप्तादेखि भाइरसलाई लिएर चीनमाथि आक्रमणको सिलसिला दोहोर्याइरहेको छ ।
बीबीसी संवाददाता बारबारा प्लेटका अनुसार आउँदो नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपतीय चुनावअघि कोरोना महामारीविरुद्धको लडाइँ जित्न ट्रम्प प्रशासनले नयाँ ढङ्गले गरिरहेको तयारी स्वरुप यो ट्रम्प प्रशासनको सुनियोजित कोसिस हो ।
के कोरोना भाइरस राष्ट्रपति ट्रम्पले भनेजस्तै मान्छेले जानीबुझी बनाएको हो भन्ने प्रश्नमा विदेश मन्त्री पोम्पियोले भने, ‘म यो सिद्धान्तलाई अविश्वास गर्दिनँ र कैयौँ ठूलो विशेषज्ञहरुले पनि अहिलेसम्म मान्छेले नै यो भाइरस बनाएको सोचिरहेका छन् ।’
तर गएको हप्ता अमेरिकाकी जासुसी एजेन्सीका अधिकारीहरुले भनेका थिए– वैज्ञानिकहरु पनि कोरोना भाइरस मान्छेले बनाएको होइन भन्नेमा सहमत छन् ।
विदेश मन्त्रीसँग यसबारेमा सोधेपछि उनले आफ्नो बचाउ गर्दै आफूसँग जासुसी विभागका अधिकारीहरुको आँकलनमाथि शङ्का गर्ने कुनै कारण नभएको बताए ।
भाइरस जानीबुझी बनाइएको थियो या भुलवश यो भएको थियो भन्नेबारेमा विदेश मन्त्री पोम्पियोले केही भन्न चाहेनन् किनकि चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले विश्वका स्वास्थ्य विशेषज्ञको सहयोग लिन नमानेको उनले बताए ।