समाचार

बंगलादेशबाट नेपाली विद्यार्थीको बिन्ती सरकार हवाईजहाज पठाइदे भाडा आफैँ तिर्छौं

काठमाडौँ– बंगलादेशको ढाकास्थित समोरिता मेडिकल कलेज कोरोना भाइरस संक्रमणको त्रासले आगामी सेप्टेम्बरसम्मलाई बन्द गरिएको छ । त्यही कलेजका विद्यार्थी हुन् सर्लाहीका अजय साह ।

उनी मोहम्मदपुरस्थित होस्टलको क्वारेन्टाइनमा छन् । होस्टलमा बस्ने बंगालीहरू घर फर्किसकेका छन् । अजयसँगै १२ जना नेपाली विद्यार्थी भने होस्टलको कोठाभित्रै थुनिएर बस्नुपरेको छ । त्यही क्षेत्रमा हालसम्म साढे तीन सय जनाभन्दा बढीमा कोरोना संक्रमण भइसकेको छ ।

उनीहरू बसेको क्षेत्रमा नेपालमा जस्तो लकडाउनमा कडाइ पनि छैन । आवश्यक सामान किन्न बजार जानुपर्छ । होस्टल कार्यरत एक जना सुरक्षा गार्डमा हालै कोरोना संक्रमण देखियो । यसपछि नेपाली विद्यार्थीहरू आतेसमा परेका छन् ।
‘म बसेको एरियामा साढे तीन सयभन्दा बढीमा कोरोना देखिएको छ । म बसेकै होस्टलको गार्डमा पनि कोरोना देखियो । यहाँको लकडाउन पनि निकै खुकुलो छ,’ अजयले खबरहबसँग भने, ‘हामीलाई खाद्यान्न र तरकारी लिन बजार जानै पर्ने बाध्यता छ, संक्रमित हुन्छौँ कि भन्ने निकै डर छ ।’
अजय परिवारजनसँग निरन्तर सम्पर्कमा छन् । कुनै कारणले एक–दुई दिन कुरा भएन भने परिवारमा चिन्ता बढ्छ ।
‘परिवारसँग निरन्तर सम्पर्क हुन्छ । कुनै बेला बिजुली वा इन्टरनेट नभएर सम्पर्क भएन भने परिवार निकै आत्तिनुहुन्छ,’ साहले मलिन स्वरमा भने, ‘यहाँ जुनसुकै बेला कोरोना संक्रमण हुने जोखिम छ । नेपालमा परिवार मेरै चिन्तामा छन् ।’
डाक्टर बन्ने सपना लिएर बंगलादेश पुगेका अजय र उनका नेपाली साथीहरू संक्रामक रोगको जोखिममा छन् । ‘न पढाइ छ, न काम, अर्काको देशमा संक्रमणको जोखिम लिएर कति दिन बस्ने ! सेप्टेम्बरसम्म कलेज खुल्दैन, यहाँ बसिरहन आर्थिक समस्या पनि हुन थालेको छ,’ अजयले भने । सरकारले समयमै उद्धार गरोस् भन्ने उनको आग्रह छ ।
अजयका भारतीय साथीहरूलाई फिर्ता लैजाने निर्णय भारत सरकारले गरिसकेको छ । नेपाल सरकारले भने उद्धारको कुनै पहल नगरेको अजयको गुनासो छ ।

‘भारत सरकारले आफ्ना नागरिकलाई ५ तारिक (मे) मा आफ्नो देश फर्काउने भनिसकेको छ । हाम्रो सरकारले अहिलेसम्म कुरा सुनेको छैन,’ अजयले खबरहबसँग भने, ‘यस्तो महामारीको समयमा हामी नेपालीहरू पीडामा छौँ, हाम्रो सरकार आफ्नै पार्टीको समस्यामा अल्झेर बसेको छ ।’

अजयको आग्रह छ– ‘आफूहरूलाई कोरोना संक्रमण नहुँदै सरकारले उद्धार गरिदेओस् । ‘हामी संक्रमणको उच्च जोखिममा छौँ । सरकारले समयमा उद्धार गरेन भने हामी कोरोना संक्रमित हुनेछौँ,’ उनले भने, ‘हामी होस्टलभित्रै पनि संक्रमित हुने खतरा छ । सरकारले हाम्रो कुरा सुनिदिओस् ।’
अजयका अनुसार बंगलादेशमा साढे ७ सय जना नेपाली छन् । जसमध्ये करिब ६ सय जना मेडिकल विद्यार्थी छन् ।

काठमाडौँ घर भएकी अनु गुरुङ पनि बंगलादेशमा अलपत्र परेकी नेपाली हुन् । उनी गुरुङ बंगलादेशको प्राइम मेडिकल कलेजबाट पढाइ पूरा गरेर नेपाल फर्किने तयारीमा थिइन् । बंगलादेशको रंगपुरमा ६ वर्ष बसेकी अनु फर्किने तयारीमै रहेका वेला लकडाउन भएपछि उतै रोकिइन् ।

‘म पढाइ सकेर नेपाल फर्किने प्रक्रियामा थिएँ तर लकडाउनले गर्दा रोकिएँ,’ अनुले खबरहबसँग भनिन्, ‘मजस्तै इन्टर्न सकेर बसेका धेरै डाक्टर हुनुहुन्छ । हामी घर फर्किने समयमा यहाँ बस्नुपर्दा होस्टलले पैसा माग्न थालेको छ ।’
बंगलादेश मुस्लिम बहुल देश हो । अहिले मुस्लिम समुदायको रमजान पर्व चलिरहेको छ । बजारमा भिडभाड छ । नेपाली विद्यार्थीहरूलाई खाद्यान्न पाउन पनि समस्या छ ।
लकडाउनले घरबाट पैसा पठाउन सम्भव नभएको र आफूलाई खानबस्न समस्या परेको अनुले बताइन् ।

‘हामीलाई खाना पाउँन पनि गाह्रो भएको छ । एक दिन ल्याएको खाना तीन दिनसम्म खाने गरेका छौँ,’ अनुले भनिन्, ‘अहिले मसँगै इन्टर्न सकेर बसेका डाक्टरहरूलाई आर्थिक समस्या पर्न थालेको छ । हामीले न नेपालबाट पैसा मगाउन सक्छौँ न त हामीसँग छ, के खाने ! होस्टललाई कसरी पैसा तिर्ने ! समस्या परेको छ ।’
कतिपय मेडिकल कलेजका होस्टलहरूमा नेपाली महिला विद्यार्थी पनि छन् ।

‘कतिपय होस्टलमा नेपाली केटीहरू मात्र बस्नुपरेको छ । एउटा भवनमा एक–दुई जनामात्र नेपाली केटीहरू बस्नुपरेको छ,’ अनुले भनिन्, ‘हामीलाई राम्रो सुरक्षा पनि छैन, होस्टलमै पनि कुनै घटना हुने हो कि भन्ने डर छ ।’
बंगलादेशस्थित नेपाली दूतावास र सरकारी निकायहरूमा आफ्नो समस्या राखे पनि सुनुवाइ नभएको अनुको भनाइ छ । ‘दूतावास र श्रम मन्त्रालयलाई समस्या सुनाएको एक महिना भइसक्यो,’ अनुले भनिन्, ‘उहाँहरूले उद्धारको प्रयास गर्दैछौँ भनेको पनि एक महिना भयो ।’

अनुको आग्रह छ– सरकारले हवाईजहाज पठाइदेओस्, भाडा हामी आफैँ तिर्छौं र सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्छौँ । बिन्ती छ सरकार ! हामी अहिलेसम्म संक्रमित भएका छैनौँ । छिटो उद्धार गरिदिनुस् ।’

अनुले नेपाल फर्किन पाए क्वारेन्टाइन बसाइ सकेपछि आफुहरू कोरोना नियन्त्रणको काममा खट्न तयार रहेको बताइन् । ‘हामी मेडिकल क्षेत्रका हौँ । सरकारलाई कोरोना नियन्त्रणको काममा सघाउन पनि तयार छौँ,’ अनुले भनिन् ।
बंगलादेश कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षका विद्यार्थी रौतहटका इशान जैसवालको पनि कलेज बन्द भएको डेढ महिना भयो । उनी बसेको माइमेन्सिङ शहरमा कोरोना संक्रमितको संख्या बढ्दै छ । चिकित्सकहरू समेत संक्रमित भएका छन् ।

इशान पढ्ने कलेजलाई अहिले कोरोना विशेष अस्पताल बनाइएको छ । उनको होस्टल त्यही विशेष अस्पतालको नजिकै छ । उनी आफूलाई संक्रमणको उच्च जोखिममा रहेको मान्छन् । इशानसँगै ३१ जना नेपाली मेडिकल विद्यार्थी छन् ।
कलेजले नै खाने बस्ने सुविधा दिएको भए पनि व्यवस्थापन भने विद्यार्थी आफैँले गर्नुपर्छ । इशान खानेकुरा किन्न तीन दिनको अन्तरमा बजार जान्छन् । लकडाउन निकै खुकुलो छ ।

होस्टलमा खाना बनाउने व्यक्ति घरबाटै आउ–जाउ गर्छन् । होस्टलमा सामूहिक खाना हुन्छ । बाहिर हिँडडुल गर्ने व्यक्तिसँग सम्पर्क हुँदा कोरोना सर्ने त्रास रहेको इशान बताउँछन् ।
‘कलेजले खाने बस्ने सुविध दिए पनि खानेकुरा लिन पालैपालो बजार जानुपर्छ । खाना पकाउने कुकहरू पनि बाहिरबाट आउनुहुन्छ । उहाँ घरमा कसरी बस्नुहुन्छ कोरोनाको जोखिममा हुनुहुन्छ कि, हामीलाई थाहा छैन,’ इशानले खबरहबसँग भने ।
वार्षिक परीक्षा सकिएर कलेज बिदा हुने र घर फर्किने समयमा लकडाउन हुँदा आफूहरू मानसिक तनावमा परेको इशानको भनाइ छ ।

‘हामीले एक वर्षको एकमुष्ठ खर्च लिएर आएका हुन्छौँ, अहिले परीक्षा सकेर घर जाने समय हो,’ इशानले भने, ‘लकडाउनले गर्दा घरबाट पैसा पठाउन सक्नुभएको छैन । हामीलाई आर्थिक समस्या हुन थालेको छ । मानसिक तवानले डिप्रेसनमा पर्न लागेका छौँ ।’

एक महिना अघिदेखि नै उद्धार गर्न आग्रह गरे पनि आफ्नो सरकारले नसुनेको गुनासो इशानको छ ।
‘एक महिना भइसक्यो, हामीलाई उद्धार गरिदिनुस् भनेर गुहारेको, अहिलेसम्म सरकारले सुनेन,’ इशानले भावुक स्वरमा भने, ‘सरकारले हामी बाकसमा फर्किएको हेर्न चाहेको हो ? हाम्रो विनम्र अनुरोध छ सरकार ! हामी जोखिममा छौँ, उद्धार गर ।’

Related Articles

Back to top button
Close