मनोरंजन

दशैंमा रिलिज हुने गरि बनाइने भनिएको ‘छक्का पन्जा-४’ यो वर्षलाई स्थगित, दिपकराजलाई लगानी डुब्ने चिन्ता

काठमाडौं, १९ बैशाख । यो वर्षको दशैंलाई रिलिज मिति तय गरिएको सर्वाधिक सफल चलचित्र ‘छक्का पन्जा ४ ’को निर्माण कार्य तत्कालका लागि स्थगित गरिएको छ । चलचित्रका निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले मिडियासँग कुरा गर्दै यसको पुष्टि गरेका हुन् ।

उनले कुरा गर्दै भने–‘हो, हामीले छक्का पन्जा-४ यो वर्ष नबनाउने निर्णय गरेका छौँ । अहिले हामी नयाँ टिमको कथा सुनिरहेका छौँ । सायद, अब नयाँ टिमसँग सहकार्य गरेर चलचित्र बन्छ ।’

दीपकका अनुसार कोरोना भाइरसको कारण विश्वको बजार नै कमजोर भएकाले पनि ‘छक्का पन्जा ४’ निर्माणको काम स्थगित गरिएको हो ।

उनले भने–‘छक्का पन्जा-४ को कथा ठूलो क्यानभासमा निर्माण गर्नुपर्ने हुन्छ । यसपटक ३ करोड हाराहारीको लगानी छ । त्यसैले पनि ओभरसिज र नेपालकै बजार पनि कमजोर भएको अवस्थामा चलचित्र बनाउने निर्णय सही हुने देखेनौँ ।’

उनका अनुसार, यो वर्षको अन्तिम साता रिलिज गर्ने तयारीका साथ नयाँ कथामा चलचित्र बनाउने तयारी सुरु भएको छ । यसका लागि, दीपकको टिमले कथा सुन्न थालेको छ ।

Related Articles

Back to top button
Close