समाचार

मनकारी गोर्खा सैनिक, लकडाउनको समस्यामा परेकालाई दिए घरभाडासहित अन्य सुविधामा छुट

काठमाडौं, १९ बैसाख । विश्वव्यापी कोरोना महामारीका कारण नेपालीहरुको जनजीवनलाई समेत अस्तव्यस्त बनाएको छ ।महिना दिनभन्दा लामो लकडाउनका कारण धेरैले रोजगारी गुमाएका छन् । कोरोना कहरका कारण धेरैको नियमित आम्दानीको बाटो बन्द भएको छ । कोरोना कहरले समस्या सिर्जना गरिरहेका बेला सक्नेले नसक्नेलाई सहयोग गर्नु आजको आवश्यकता हो ।तर, धन भएकाहरुले पनि कोरोनाको कहरमा परेकाहरुको समस्यामा कान थापेर बसिरहेका बेला एक मनकारी गोर्खा सैनिक (ब्रिटिस सेना) ले भने मन खोलेर समस्यामा परेकालाई सहयोग गरेका छन् ।

लकडाउनका कारण नियमित आम्दानी रोकिएर समस्यामा परेकाहरुको अप्ठ्यारोलाई मध्यनजर गर्दै तेह्रथुमका गजेन्द्र खवाहाङ् लिम्बूले मजदुरी गरी बस्ने चार परिवारलाई एक महिनाको घरभाडासहित अन्य सुविधामा छुट दिएका छन् ।काठमाडौं महानगरपालिका– ६ सरस्वतीनगरस्थित आफ्नो घरमा बस्दै आएका चार परिवारलाई गरी ३३ हजार रुपैयाँ बराबरको भाडा छुट गरेका हुन् ।विगत दुई दशकदेखि ब्रिटिस आर्मीमा कार्यरत लिम्बूले आफ्नो घरमा बस्दै आएका मजदुर परिवारलाई पानी, बत्ती, वाईफाई र फोहोरको समेत गरी एक महिनाको शुल्क नलिने घोषणा गरेका छन् ।

लकडाउनले नियमित आम्दानी रोकिएको र थोरैतिनो जोहो गरिएको रकम अन्य घरायसी काममा लगाउन पाउन भनेर भाडालगायतमा छुट दिएको लिम्बू बताउँछन् ।आफू विदेशमा भए पनि नेपालमा रहेर समस्यामा परिरहेकालाई सानो भए पनि सहयोग गरेको उनी बताउँछन् । विश्वलाई समस्यामा पारेको कोरोना भाइरसको कहरमा आफूले सकेको सहयोग गर्नु कर्तव्य र दायित्व समेत भएको बताउने लिम्बू समस्यामा नपरेकाले समस्यामा परेकालाई सकेको सहयोग गर्न सके उनीहरुको जीवनयापनमा केहि सहजता मिल्ने बताएका छन् ।

Related Articles

Back to top button
Close