अन्तर्राष्ट्रिय समाचार

कोरोना भाइरसका कारण अमेरिकामा झन्डै ४ करोड बेरोजगार

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा बेरोजगार हुनेको संख्या ३ करोड ८० लाख नाघेको छ । संघीय अधिकारीका अनुसार ३ करोड ८० लाखभन्दा बढी अमेरिकीले बेरोजगारी सुविधाका लागि आवेदन दिइसकेका छन् ।अमेरिकी गायक ब्रायन स्टोक्स मिचेलले घरको बार्दलीबाट गाएको गीत सुन्दै न्युयोर्कका स्थानीय । तीमध्ये ३ करोड जनाले पछिल्ला ६ सातामा रोजगारी गुमाएका हुन् । बेरोजगार हुनेको यो संख्या अमेरिकी इतिहासकै सबैभन्दा बढी हो ।अमेरिका कोभिड–१९ बाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको छ ।

भाइरसका कारण करिब ६१ हजारको मृत्यु भइसकेको छ भने १० लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।कोरोना भाइरसको महामारीका कारण अमेरिकी अर्थतन्त्र सन् १९३० यता सबैभन्दा बढी प्रभावित भएको छ । गत तीन महिनाको तथ्यांकअनुसार अमेरिकाको अर्थतन्त्रमा एक दशकयताकै सबैभन्दा गम्भीर संकुचन देखापरेको छ ।बुधबार सार्वजनिक विवरणअनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको गिरावट आउने देखिएको छ । जुन सन् २०१४ यताकै सबैभन्दा ठूलो गिरावट हो । तर मार्च महिनामा पूर्णरूपमा प्रतिबन्धहरू नलगाइएकाले यो तथ्यांकले संकटको संकेत मात्र गर्ने अमेरिकी अर्थविद्हरूको भनाइ छ ।

फेडेरल रिजर्भका अध्यक्ष जेरोम पावेलले बैंकले चालेका नयाँ कदमहरू अर्थतन्त्रमा सुधार नहुन्जेलसम्म जारी रहने बताए । अमेरिकाले थप व्ययभारका लागि करिब तीन ट्रिलियन डलर खर्चिने उनको भनाइ छ । उक्त रकमबाट प्रभावित परिवारलाई प्रत्यक्ष रूपमा नगदसमेत दिइनेछ ।फेडेरल रिजर्भले ब्याजदर शून्यको हाराहारी कायम गरिनेलगायत संकटकालीन कदमहरू चाल्नेसमेत पावेलले जनाए । अहिलेको संकट निकै तीव्र र गहिरो हुन सक्ने उनले चेतावनी दिए । अमेरिकी केन्द्रीय बैंकका नीतिनिर्माताहरूले अमेरिका तथा विश्वको गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक भाइरसको महामारी भएको बताएका छन् ।कान्तिपुर दैनिक

Related Articles

Back to top button
Close