Banner newsअन्तर्राष्ट्रिय समाचार

रूसमा निस्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शन

मस्को — रूसको राजधानी मस्कोमा स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै सडकमा उत्रेका करिब एक हजार ४ सय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय निर्वाचनमा विपक्षी उम्मेदवारहरूलाई भाग लिन वञ्चित गर्ने निर्णयको विरोधमा रूसी राजधानी मस्कोमा करिब ४ हजार मानिस प्रदर्शनमा उत्रेका हुन् ।

मस्को प्रहरीका अनुसार तीमध्ये ७ सय पत्रकार थिए । अधिकारीहरूले अनधिकृत रूपमा प्रदर्शनमा सरिक भएको भन्दै व्यापक धरपकड गरेका हुन् ।सुरक्षाकर्मीहरूले नगरपालिकाको हलमा रहेका प्रदर्शनकारीलाई लाठीले हान्दै लखेटेको थियो । निष्पक्ष चुनाव माग गर्दै गत साता एक साताअघि करिब २२ हजार मानिसहरूले विरोध प्रदर्शन गरेका थिए । उक्त प्रदर्शन सन् २०१२ यताकै ठूलो भएको जनाइएको छ ।

सुरक्षाकर्मीले आगामी सेप्टेम्बर ८ मा हुने सहरी परिषदको निर्वाचनमा भाग लिन वञ्चित गरिएका केही उम्मेदवारलाई पनि गिरफ्तार गरेका छन् । निर्वाचन आयोगका अधिकारीले आवश्यक हस्ताक्षर बुझाउन नसकेको भन्दै ३० जना उम्मेदवारलाई चुनाव लड्न अयोग्य घोषित गरेका थिए ।

विपक्षी नेता एलेक्सी नाभाल्नीलाई प्रदर्शनको आयोजना गरेको भन्दै ३० दिने कारावास सजाय तोकिएको छ । कारावासमा रहेका नाभाल्नीमा स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बीबीसीेले जनाएको छ । नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर विरोधी हुन् ।

अधिकारीहरूले अनधिकृत रूपमा विरोध र्‍याली निकाल्ने करिब १ हजार ३ सय ७३ लाई पक्राउ गरेको जनाएका हुन् तर अन्य स्रोतका अनुसार गिरफ्तार हुनेको संख्या केही बढी भएको दाबी गरेका छन् ।

मस्कोका मेयर सेर्गेइ सोब्यानीनले प्रदर्शनकारीका कारण सहरको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएको दाबी गरे । उनले ‘आफू सार्वजनिक सुव्यवस्था कायम राख्न क्रियाशील रहेको’ बताए । स्थानीय निर्वाचनका लागि अयोग्य घोषित ३० उम्मेदवारमध्येकी एक ल्युनिभ सोबोलले टवीटरमार्फत ‘सरकारी अधिकारीहरूले होस गुमाएका’ प्रतिक्रिया दिएका छन् ।

प्रहरीले मेयरको कार्यालयबाट प्रदर्शनकारीलाई हटाएको र गिरफतार गर्दै चौकीतिर लगेको थियो । सञ्चार माध्यमका अनुसार केही प्रदर्शनकारीको रगत बगेको देखिन्थ्यो भने केहीले प्रहरीलाई आक्रमण प्रयास गरेको देखिन्थ्यो ।

रूसस्थित अमेरिकी दूतावासले ‘प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग गरेको’ भन्दै आपत्ति जनाएको छ । दूतावासको प्रवक्ता एन्ड्रेया कलनले टवीटरमार्फत ‘प्रदर्शनकारीमाथिको हिंसा र पक्राउ जनताले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउने अधिकारविरुद्धको कदम भएको’ जनाए । त्यसैगरी, युरोपेली संघले रूसी प्रहरीको कार्यले ‘जनताको अभिव्यक्ति तथा सभासम्मेलन गर्न पाउने स्वतन्त्रताको अवमूल्यन’ गरेको जनाएको छ ।

बाल्टिक समुद्रमा छुट्टी मनाइरहेका राष्ट्रपति पुटिनले ‘पृथ्वीमा धेरै समस्या रहेकाले समाधानका लागि ‘कहिले माथि त कहिले गहिरोमा जानुपर्ने’ प्रतिक्रिया दिएका छन् ।

Related Articles

Back to top button
Close