नायिका पूजा शर्माले पीडितको घर-घरमै पुगेर राहत बाडिन्
काठमाडौं / विश्व कोरोना भाइरसको मारमा रहेको छ । विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् । नेपाल पनि विगत दुइ हप्ता भन्दा लामो समयबाट लकडाउनमा रहेको छ। यो लकडाउन अझ लामो समय चल्ने पक्का जस्तै रहेको छ। बैशाख ३ गतेसम्म घोषित लकडाउन भैसकेको छ भने प्रधानमन्त्रीले गरेको आफ्नो सम्बोधनमा अझै दुई साता हाम्रो लागि अप्ठ्यारो स्थिति रहेको बताईसकेका छन्। यसको प्रत्यक्ष मारमा दिनहु ज्याला मजदुरी गरेर खाने वर्ग परेको छ।
नेपाली चलचित्र क्षेत्र पनि यसको प्रत्यक्ष प्रभावमा परेको छ। विशेष गरि चलचित्रमा काम गर्ने धेरै प्रावधिकहरु यसको प्रत्यक्ष मारमा परेका छन्। सोहि कारण धेरै कलाकारले चलचित्र प्राविधिक संघ मार्फत सहयोग गर्ने घोषणा गरिसकेका छन्। चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले सहयोग रकम जुट्ने क्रम जारि रहेको बताएका छन्। अभिनेत्री पूजा शर्माले केहि दिन अगाडी दुईलाख भन्दा बढीको खाद्यान्न प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेकी थिइन्। सोहि घोषणा उनले पूरा गरेकी छिन्।
उनले ३० जना प्राविधिकलाई प्रति व्यक्ति १ बोरा चामल, २ केजी नुन, २ लिटर तेल, दाल, केराउ, १ केजी चिनी, विस्कुट, १० प्याकेट चाउचाउ, साबुन र स्याबिन वितरण गरेकी छिन्।प्राविधिकको सहजताका लागी उनि घर-घरमा पुगेकी थिइन्। जोरपाटी देखि भक्तपुर ‘व्यासी’ सम्म उनि राहत लिएर पुगेकी थिइन्। उनको साथमा प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, संघका उपाध्यक्ष अर्जुन प्रसाद पोखरेल, पूर्व महासचिव सुरज आचार्य लगायत रहेका थिए।
राहत वितरण गर्दै पूजाले आफुले सक्ने र आवश्यक परेका व्यक्तिलाई थोरै सहयोग गर्न पाउदा सन्तुष्टि मिलेको बताएकी छिन्। उनले जतिलाई सहयोग गर्न सके उहाहरुलाइ गुणस्तरीय खाद्यान्न वितारण गर्न सकेकोमा खुसि मिलेको बताएकी छिन्। हरेकलाई सचेत हुन र आफ्नो र आफ्नाको स्वास्थ्यको ख्याल गर्दै घरै बस्न अनुरोध गरेकी छिन्।