समाचार

विश्वभर महामारी फैलाएको कोरोनले नेपाल तथा दक्षिण एसियामा किन कम संक्रमण फैलियो?का,रण यस्तो

काठमाडौं – गत डिसेम्बर अन्त्यमा चीनको वुहान प्रान्तबाट फैलिएको कोभिड– १९ को संक्रमण यतिखेर विश्वका २ सय १२ देशमा पुगिसकेको छ। तर फैलिने अवधि र दर सबै देशमा एउटै गतिमा छैन। त्यसमा पनि दक्षिण एसियामा कम देखिन्छ। नेपाल चीनको छिमेकी राष्ट्र हो, नेपालमा विश्वभरिबाट पर्यटक आउँछन् र नेपाली विश्वका धेरै मुलुकमा छन्। तैपनि कोरोना फैलिने दर नेपालमा किन कम देखियो ? धेरैको यही जिज्ञासा छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमणको कारण १३ लाख ५६ हजार बढीमा संक्रमण फैलिसकेको छ भने ७९ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ। कोरोना महामारीको कारण चीनमा ३ हजार ३ सय ४० जनाको मृत्यु भयो। लगत्तै कोरियामा १ सय ९२ जनाको मृत्यु भयो। इटली, इरान, फ्रान्स, अमेरिकालगायत राष्ट्रमा प्रकोपकै रूप लियो।

डब्ल्युएचओको तथ्यांकअनुसार अमेरिकामा ३ लाख ३३ हजार ८ सय ११ जनामा कोरोना संक्रमण भइसकेको छ। त्यसैगरी युरोपमा संक्रमण ६ लाख ८६ हजार ३ सय ३८ पुगेको छ भने ५२ हजार ८ सय ८९ जनाको मृत्यु भइसकेको छ। सबैभन्दा बढी इटलीमा कोरोनाको प्रकोप फैलिएको छ। युरोपेली राष्ट्र इटली, स्पेन, फ्रान्स, बेलायत, जर्मनी सबै प्रभावित भएका छन्।

तर दक्षिण एसियाली मुलुकमा संक्रमण र मृत्युको संख्या दुवै यी राष्ट्रहरूको तुलनामा ढिला र अत्यन्त कम देखिन्छ। सबा अर्ब जनसंख्या भएको भारतमा हालसम्म ४ हजार ६७ जनामा संक्रमण फेला परेको छ र १ सय ९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा ३ हजार २ सय ७७ जनामा संक्रमण भएकोमा ५० जनाको मृत्यु भएको छ।

तथ्यांकले अन्य मुलुकको तुलनामा दक्षिण एसियाली राष्ट्र तथा नेपालमा यसको संक्रमण ढिला र कम देखाएको छ। नेपालमा चीनबाटै आएका एक विद्यार्थीबाहेक अन्यमा दुई महिनापछि मात्र संक्रमण देखिएको र ती सबै विदेशबाट आएका थिए।

जनवरीदेखि मार्चसम्मै नेपालमा विदेशबाट पर्यटक तथा नेपालीको आवत–जावत भएको अनुपातमा कोरोनाको संक्रमण तीव्र रूपमा नभएको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी बताउँछन्। कोरोना परीक्षणको सबैमा पहुँच नभए पनि निमोनियाँको लक्षण लिएर भर्ना हुने बिरामीको संख्या गत वर्षको भन्दा यो वर्ष कम रहेको उनको ठम्याइ छ।

नेपालीले बढी हातले खाने चलनले घरी–घरी हात धोइरहनु, शौचालय प्रयोगपछि हात धुनेजस्ता संस्कारले भाइरसको संक्रमण तीव्र गतिमा नभएको हुनसक्ने उनी बताउँछन्। ‘युरोप जस्ता विकसित मुलुकमा चम्चाले खाना खाने, शौचालयमा कागजको प्रयोग गर्ने चलनले हातबाट भाइरस फैलिएको देखिन्छ,’ उनले भने, ‘नेपालमा पछिल्लो एक दशकदेखि यता हात धुने अभ्यास पनि धेरै देखिएको छ।’

अ‍ेमरिका, युरोप तथा चीनमा बढी मात्रामा एकै पटक धेरैजना लिफ्टमा चढ्ने, अन्डरग्राउन्ड रेल चढेर घन्टौं यात्रा गर्ने र यस्ता स्थलमा हावा सजिलै बाहिर ननिस्किने कारण पनि संक्रमितको श्वासको छिटा अन्यमा फैलिएको हुनसक्ने, रेलका डन्डी छुने र लिफ्टको बटन छुने क्रममा, आफन्तजनसित भेट्दा अँगालो मार्ने, चुम्बन गर्नेजस्ता चलनले पनि भाइरस संक्रमणको वृद्धि तीव्र भएको हुन सक्ने डा. मरासिनीको भनाइ छ।

‘जमिनभित्रका रेलमा न घाम पर्छ न छिनछिनमा धुने अवस्था हुन्छ, यात्रुले कहीँ न कहीँ रेलिङ समाउनुपर्छ,’ उनले भने। नेपालमा चल्ने सार्वजनिक यातायातमा पर्यटक नहिँड्नु र नेपालमा सूर्यको किरण पनि बलियो हुनुजस्ता पक्षले भाइरसको वृद्धि रोकेको हुने उनले बताए।

चिकित्सकका अनुसार त्यसैगरी विकसित कतिपय राष्ट्रले पहिला नै क्षयरोगको उन्मूलन भइसकेपछि बिसिजी खोप लगाउन छोेडेको तर दक्षिण एसियामा अहिले पनि सबैले यो खोप लगाउने गर्छन्। यो खोपले क्षयरोगसँगै कोरोना भाइरसविरुद्ध काम गरेको हुनसक्ने अर्को अड्कल बनेको छ। उनले भने, ‘एउटै हतियारले दुईवटा सिकार भएजस्तो क्षयरोगको खोपले यी दुई रोगका कीटाणु तथा भाइरसविरुद्ध काम गरेको हुन सक्छ।’

शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ तथा डा. शेरबहादुर पुन पनि नेपालीको परम्परागत संस्कारले केही भूमिका खेलेको हुनसक्ने अनुमान लगाउँछन्। दक्षिण एसियामा रहेको समान प्रकृतिको रहनसहन, बिसिजी खोप र हावापानीको भूमिकाले कोरोना भाइरस तीव्र वृद्धि हुन नसकेको उनले तर्क गरे। ‘सबा अर्ब जनसंख्या रहेको भारतमा ४ हजार संक्रमण कम हो,’ उनले भने।

भारत, भुटान, नेपाललगायत दक्षिण एसियाली राष्ट्रमा नमस्कार गर्ने चलन बढी छ, यसले गर्दा हातबाट भाइरस सजिलै सर्ने सम्भावना कम रहेको डा. पुन बताउँछन्। नेपाली तथा दक्षिण एसियाली मानिसमा यो भाइरसविरुद्धको जिन नै विकसित भएको हुनसक्ने बताए। ‘यसअघि अन्य देशमा महामारीको रूप लिएको स्वाइफ्लु, सार्स, मर्चजस्ता भाइरसले पनि नेपालमा खास प्रकोपको रूप लिएको पाइँदैन,’ उनले भने।

शुक्रराज ट्रपिलक अस्पतालका प्रवक्ता डा. अनुप बास्तोला भने विनाअध्ययन केही भन्न नसकिने बताउँछन्। केही दिनपछि मात्र भारत तथा नेपालको कोरोनाको संक्रमण कता जान्छ भन्नेबारे यकिन गर्न सकिने उनको भनाइ। ‘भारतमा पनि रोगग्रस्त क्षेत्रबाट मानिस फर्केर आएपछि बढेको देखिन्छ, भारतबाट जोखिम बढेको छ,’ उनले भने। नमुनाको पर्याप्त परीक्षण नभएकाले पनि संक्रमण यकिन हुन नसकेको बास्तोलाले बताए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमाल पनि अनुसन्धान विना यकिन भन्न नसकिने बताउँछन्। नेपालीको जीवनशैलीले कोरोना रोक्नमा भूमिका खेलेको हुन सक्ने धिमालको अड्कल छ। डा. धिमालका अनुसार अधिकांश वृद्ध–वृद्धाको मृत्यु गराएको र ८० प्रतिशतमा सामान्य असर देखिएको छ। धिमालका अनुसार अन्य देशका वृद्ध–वृद्धा घरबाहिर निस्कने चलन बढी भएको र त्यो क्रममा संक्रमित भएको हुन सक्छन्। अन्य देशमा घरको बसाइ पनि नजिक–नजिक बस्ने, एकै पटक धेरैको संख्यामा मानिस वोक्ने लिफ्टको प्रयोग हुनु, एउटै रेलमा सयौं जना यात्रा गर्नुले पनि छिटो संक्रमण फैलिएको उनको भनाइ छ। यो बाहेक नेपालीमा यसअघि नै यस्ता रोगसित लड्ने क्षमताको विकास भइसककाले पनि संक्रमण नभएको हुन सक्छ।

Related Articles

Back to top button
Close