समाचार

यूएईबाट नेपाल फर्कन चाहने नेपालीहरुको लागि पहल गर्न दूतावासलाई ‘एनआरएनए’को आग्रह

यूएई, २६ चैत । नेपाल एशोसियसन (एनआरएनए) यूएईले नेपाल जान चाहने इच्छुक नेपालीहरुका लागि व्यवस्थापन गरिदिन अबुधाबी, यूएईस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।

एनआरएनए यूएईका जनरल सेक्रेटरी नरेश सेनले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरस संक्रमणका कारण यूएईमा रहेका नेपाल जान चाहने नेपालीहरुको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

कोभिड १९ का कारण धेरै नेपालीहरुले आफ्नो काम गुमाउनु परेको, भिजिटमा रहेका नेपालीहरुलाई खान र बस्न समस्या परेको, हाल काम गरिरहेका कम्पनीहरुमा घट्दो तलबमा काम गर्नुपरेको, संक्रमणको थ्रेसहोल्डका आधारमा प्राथमिकता दिनुपर्ने भएकोले क्याम्पमै लकडाउन हुनुपरेको र भिषा क्यान्सिल भई घर जान नपाउँदा अलपत्र परेकाहरुलाई नेपाल फर्काउनका लागि दूतावासलाई आग्रह गरिएको हो ।

यसैबीच एनआरएनए यूएईले सर्वोच्च आदालतले सम्पूर्ण नेपालीको हितका लागि गरेको निर्णय (परिशिष्ट १)लाई स्वागत गर्दै आभार प्रकट गरेको छ । विज्ञप्तीमा उल्लेख गरिएको छ, “हरेक विषम परिस्थितिको अभिभावक नेपाली राजदूतावास मार्फत यूएईबाट नेपाल जान चाहने नेपालीहरुको प्रस्थानका लागि नेपाल सरकारसमक्ष हाम्रो आग्रह पुर्याइदिन र प्रकृया अविलम्ब शुरु गरिदिन हार्दिक अनुरोध गर्दछौं ।”

त्यस्तै, एनआरएनए यूएईले आवश्यक परेको खण्डमा नेपाल जान चाहने व्यक्तिहरुको डाटा संकलन एवं परामर्शका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

Related Articles

Back to top button
Close