समाचार

एक सातादेखि भोकै हिँडेका १२ मजदुरलाई प्रहरी जवान नवीन दाहालले खुवाए खाना

उदयपुर, २५ चैत । अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका जवान नवीन दाहालले सोलुखुम्बुको सोलु बेनी हाइड्रो पावरमा काम गर्ने सप्तरी र सिरहा घर भएका १२ मजदुरलाई खाना खुवाउनुभएको छ ।

सोलुखुम्बुबाट हिँडेरै उदयपुरको घुर्मीसम्म पुगेका ती मजदुरहरुलाई चेकजाँचको क्रममा एक सातादेखि खाना खान नपाएको थाहा पाएपछि नवीन दाहालले चिउरा, चाउचाउ, दालमोठ र पानी खुवाउनुभएको हो ।उनीहरु सोमबारका दिन घुर्मीबाट भने अनुमति पास लिएको युपी ११ टी ५०६८ नम्बरको ट्रकमा भोकभोकै कटारी आइपुगेका थिए ।

सोलुखुम्बु र ओखलढुंगाका सबै होटल, पसलहरु बन्द रहेकाले उनीहरु एकसातादेखि भोकभोकै पैदलै हिँडेर घुर्मी पुगेको र घुर्मीदेखि ट्रकमा कटारी आइपुगेको बताएका थिए । पैदल हिंड्दा हिंड्दा खुट्टा सुन्निएको अवस्थामा आइपुगेका उनीहरुलाई प्रहरी जवान नवीन दाहालले मानवीय नाताले खाना खुवाएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘ट्रकको ढालामा आएका उनीहरुलाई सोधखोज गर्दा एक सातादेखि खाना नखाई आइपुगेको बताएपछि आफूले चिउरा, खाजा ख्वाएँ ।’

Related Articles

Back to top button
Close