समाचार

चीनमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्य, बुधबारदेखि वुहान सहरको लकडाउन खुल्ने

काठमाडौं – चीनमा कोरोना भाइरसबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको छ । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको चीनको नेशनल हेल्थ कमिशनले जानकारी दिएको हो । चीनले कोरोना भाइरसबारे तथ्यांक सार्वजनिक गर्न थालेपछि दैनिक मृत्यु हुनेको संख्या शून्यमा आएको यो पहिलोपटक हो । त्यसैले गर्दा सबैभन्दा धेरै प्रभावित भएको वुहान सहरको लकडाउन बुधबारदेखि पूर्णरुपमा खुल्ने भएको छ । मंगलबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा ३२ नयाँ संक्रमित फेला परेका छन् । अहिले फेला परेका सबै संक्रमित बाहिरबाट आएका मानिसहरू हुन् । यससँगै चीनमा समग्र संक्रमितको संख्या ८१ हजार सात सय ४० पुगेका छन् ।

त्यसमध्ये ७७ हजार एक सय ६७ जना निको भइसकेका छन् भने तीन हजार तीन सय ३१ जनाको मृत्यु भएको छ । अहिले चीनमा एक हजार दुई सय ४२ जना कोरोना भाइरसका बिरामी बाँकी छन् । जसमध्ये दुई सय ११ जनाको अवस्था गम्भीर छ ।हेल्थ कमिशनकाअनुसार एक दिनमा ३० जना लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन्। यससँगै चीनमा लक्षण नदेखिएका बिरामीको संख्या पनि एक हजार ३३ पुगेको छ । यसमध्ये करिब एक चौथाइ विदेशबाट आएका मानिस छन् ।

Related Articles

Back to top button