समाचार

साउदीमा २४ सै घण्टा कर्फ्यू, सतर्क रहन नेपालीलाई दूतावासको आह्वान

काठमाडौ – साउदी अरबमा कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको छ ।यसअघि गत अप्रिल २३ मा राति ७ बजेदेखि विहान ६ बजेसम्मका लागि आंशिक कर्फ्यू जारी गरिएको सोमबारदेखि २४ घण्टा नै पुर्‍याइएको हो ।कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीको गृहमन्त्रालयले रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यूको समयावधि २४ घण्टा पुर्‍याइएको जनाएको छ ।

कर्फ्यू आदेश जारी गरेको रियादस्थित नेपाली दूतावासले उक्त क्षेत्रमा रहेका नेपालीहरुलाई घरबाहिर ननिस्कने अपिल गरेको छ ।सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अपिल गरेको हो ।साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।हालसम्म साउदी अरबमा २ हजार ५ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि रहेको दूतावासले जनाएको छ । साउदी अरबमा कोरोना भाइरसले ३८ जनाको ज्यान लिएको छ ।

Related Articles

Back to top button
Close