समाचार

कोरोना कहर : घर फर्कने भन्दाभन्दै संसारबाट बिदा भए

अमेरिका: थोक्मे बिष्ट २८ वर्षको जवान उमेरमा सपनाको देश अमेरिका हानिए। सुन्दर सपना बोकेर । बिष्टलाई २० वर्ष अमेरिकाले दिनरात दौडाइरह्यो । अमेरिकी ग्रिनकार्डको सपनाले पनि उनलाई अहोरात्र दु:ख नै दिन्थ्यो । अमेरिकी बन्ने सपना पूरा नहुने भएपनि अब परिवारका साथमा सुखले जीवन बिताउने कल्पनामा उनी नेपाल फर्किने योजना बुन्दै थिए ।

तर, दैवले उनलाई यहीनेर रोक्यो । कोभिड १९ नामको संक्रमणले उनलाई नेपाल फर्किन दिएन । अपर मुस्ताङका राजाका भान्जा पर्ने थोक्मे बिष्टको चैत्र २१ गते शुक्रबार बिहान न्यूयोर्कस्थित आफ्नै कोठामा निधन भयो । बिष्ट २० वर्षदेखि अमेरिकामा एक्लै थिए। उनको साथमा आफ्नै परिवार थिएन् । अब कागजपत्र नबन्ने प्रायः निश्चित भएपछि उनी नेपाल फर्किने योजना बनाइसकेका थिए ।

बिष्टका दामली छेपक दोर्जे गुरुङ भन्छन्, ‘झण्डै दुईसाता अघि भेटेको थिएँ, अब म नेपाल जान्छु भन्थ्यो तर उसको सपना अधुरै रह्यो ।’ बिष्टले बीचमा नेपाल जाने तयारी पनि नगरेका होइनन्, तर उनीसँग आफ्नो मुलुकको पासपोर्ट थिएन् । ट्राभल डकुमेन्ट बनाएर जाने पनि सोचले एक पटक न्यूयोर्कमा रहेको दूतावासमा पनि पुगेका थिए कुरा बुझ्नलाई ।

बाणिज्यदूतावास न्यूयोर्कका कार्यबहाक महाणिज्यदूत पुष्पराज भट्टराईले भने,’ बिष्ट जी कार्यालयमा आउनु भएको थियो, मैले सक्दो सहयोग गरेको हुँ, सायद उहाँको डकुमेन्ट बनेको हुनुपर्दछ ।’

श्रीमती र दुई छोराहरु छाडेर अमेरिका बसेका बिष्ट कागजपत्र बनाउने र पैसा कमाउने धुनमा लाग्दा लाग्दै यो संसारबाट बिदा भए।

सपनाको देशमा सुन्दर सपना बुन्दा बुन्दै उनी मुटु र फोक्सोको बिमार समेत भइसकेका थिए । उनका दामली दोर्जे सम्झन्छन्, ‘धेरै वर्ष मेहेनत गरेको छु, अब नेपाल गएर परिवारका साथ सुखले बस्छु भन्थ्यो, तर दैवले उसको इच्छा चुँडेर लग्यो।’

न्यूयोर्कको सन्नीसाइडमा दाजुभाउजुसँगै बस्दै आएका बिष्टलाई केहीदिन अगाडिदेखि रोगले च्याप्दै लगेको थियो । सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखियो । कोरोनाको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी नजिकैको अर्जेन्ट केयरमा गए । त्यहाँ सामान्य चेकजाँचपछि उनलाई घरमै बस्न सुझाइयो ।

तर अलिक गाह्रोजस्तो अनुभव भएपछि उनी स्थानीय माउन्ट सइनाई अस्पतालमा उपचारका लागि गए । त्यहाँ उनको चेकजाँच गरियो । र फोक्सोको एक्सरे समेत गरियो । एक्सरेपछि अस्पतालले फोक्सोमा केही समस्या रहेको बताएको थियो । तर उनलाई अस्पतालले भर्ना गर्न नमानेपछि घरमै आराम गर्न सुझाव दिइयो । दुईचार दिनमा थप रिपोर्ट आइसकेपछि जानकारी गराउने अस्पतालले बताएको थियो ।तर बिष्ट अस्पतालको रिपोर्ट नआउँदै यो संसारबाट बिदा भए । (अन्नपुर्ण पोष्ट मा यो समाचार छ)

Related Articles

Back to top button
Close