समाचार

कोरोनाभाइरस : कतारमा एकैदिन ११४ जना संक्रमित, भाइरसबाट ८५ वर्षीय वृद्धको मृत्यु

विश्वभर महामारीकै रुपमा फैलिरहेको कोरोनाभाइरस कोभिड-१९ ले ५३ हजार जना भन्दा धेरै मानिसको ज्यान लिइसकेको छ। हालसम्म यस भाइरसबाट विश्वभर १० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने २ लाख १२ हजार जना पूर्णरुपमा निको भइसकेका छन्।

कोरोनाभाइरसबाट सबैभन्दा बढी संक्रमित हुने देशको सुचिमा अमेरिका पहिलो नम्बरमा छ। अमेरिकामा हालसम्म २ लाख ४४ हजार जना संक्रमित भएका छन् भने ६ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २९ हजार बढी संक्रमित भएका थिए भने ९६८ जनाले ज्यानले गुमाएका थिए ।

कोरोनाभाइरस अन्य देशहरुको तुलनामा युरोपेली देशमा तिव्र गतिले फैलिदै गएको छ। अमेरिकापछि सबैभन्दा धेरै संक्रमित हुने देशहरुको सुचिमा क्रमशः इटाली दोस्रो, स्पेन तेस्रो र जर्मन चौंठो नम्बरमा छन्। यी देशहरुमा दैनिक हजारौंको संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ। चीनमा भने यो भाइरस विस्तारै निर्मुल हुँदै गएको देखिन्छ। पछिल्लो २४ घण्टामा चीनमा ३५ जना मात्र संक्रमित भएका छन् ।

खाडी राष्ट्रमा कोरोनाको संक्रमण ‘स्लो मोशनमा’

अमेरिका लगाएत युरोपियन देशहरुमा तबाही मच्चाईरहेको कोरोनाभाइरसले खाडीका राष्ट्रहरुमा इरान बाहेक अन्य देशमा सुस्त गतिमा संक्रमण गरेको देखिन्छ । हालसम्म साउदी अरबमा १८८५ जना संक्रमित भएका छन् भने २१ जनाको मृत्यु भएको छ। त्यसैगरी संयुक्त अरब अमीरात युएइमा कुल १०२४ संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ।

कतारमा एकैदिन ११४ जना संक्रमित

नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुक कतारमा एकैदिन १ सय १४ जना कोरोना संक्रमित भेटिएका छन् भने थप १ जना मृत्‍यु भएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ९ सय ४९ पुगेको छ ।

हालसम्म ७२ जना निको भएर घर फर्किएका छन् भने कुल २६ हजार २ सय ६० जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ३ जनाको मृत्यु भइ सकेको छ।

पछिल्लो समय मृत्‍यु हुने न्यूमोनियाबाट ग्रसित ८५ वर्षीय वृद्ध रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप नयाँ ११४ जना मध्ये अधिकाँश संक्रमित ब्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु हुन् ।

Related Articles

Back to top button
Close