समाचार

केपी ओलीकै संलग्नमा स्वास्थ्य सामग्री खरिदमा अर्काे किर्ते काण्ड पर्दाफास !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकको निर्णय माइन्युट गर्दा किर्ते भएको पर्दाफास भएको छ ।मन्त्रिपरिषद् बैठकको छलफलको विषय नै नभएको कुरा निर्णय पुस्तिकामा समावेश भएपछि किर्ते काण्ड बाहिरिएको हो ।

गत आईतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण रोक्न स्वास्थ्य सामाग्री सेनामार्फत जीटूजी मोडलमा खरीद गर्ने निर्णय गरेको खुलासा भएपनि यसबारे बैठकमा सहभागी मन्त्रीहरूलाई नै जानकारी छैन ।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्ने विषय बैठकको एजेन्डा नै थिए । मन्त्रिपरिषद् बैठकको निर्णयको बुँदा नम्बर ४ मा उल्लेख छ, ‘कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जीटूजी) को विधिबाट खरीद गर्ने ।’

निजी कम्पनीमार्फत स्वास्थ्य सामग्री खरिदको विषय चर्काे विवादमा परेर स्वास्थ्य मन्त्रालयले खरिद प्रक्रिया रद्द गरेको छ, अर्काेतिर मन्त्रिपरिषद् बैठकमा एजेन्डा नै नभएको विषय निर्णय भएको सार्वजनिक भएपछि मन्त्रीहरू नै अचम्ममा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बैठक सकिएपछि पर्याप्त छलफल विना नै प्रधानमन्त्री ओलीको निर्देशनमा सेनामार्फत खरिद गर्ने बुँदा थप गरिएको जनाइएको छ । मन्त्रिपरिषद् बैठकमा छलफल नै नभएको विषयलाई माइन्युटमा लेख्नु किर्ते भएको जानकारहरू बताउँछन् ।उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वमा गठित कोरोना रोकथामसम्बन्धी उच्च स्तरीय समितिको बिहीवारको बैठकमा समेत स्वास्थ्य सामग्री खरिदको विषयमा छलफल भएको थियो ।

बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘स्वास्थ्य सामग्री जीटूजीमा खरीद गर्न नसकिएर निजी क्षेत्रलाई हामीले आह्वान गर्नुपरेको हो । हामीले छिमेकी मुलुकसँग स्वास्थ्य सामग्री हामीलाई यो यो चाहियो, सहयोग गर्नुहोस् भनेर पठाएका पनि हौं । तर दुईटै छिमेकी मुलुकहरु आफैं समस्यामा पनि भएका कारणले हामीले आजसम्म पनि खरिद गर्न सकिएन ।’

चीनले सहयोग नगरेका कारण सरकारमार्फत खरिद गर्न नसकिएको प्रवक्ता खतिवडाले बताए । आईतबारको मन्त्रिपरिषद् बैठकमा सेनामार्फत खरिद गर्ने भनेर निर्णय भएकोबारे खतिवडाले समेत संकेत पाएनन् ।

Related Articles

Back to top button
Close