समाचार

कोरोनालाई पराजित गरेको नेपाली परिवारको कथा- ‘हामीले जित्यौं, कोरोनाले हार्यो’

न्युयोर्कको उडसाइड ५१ स्ट्रीटमा बस्दै आएका ४४ बर्षकी निमा शेर्पा र ४७ बर्षका सोम गुरुङको परिवार मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा पर्यो । तर अहिले यो परिवारले कोरोनालाई जितिसकेको छ । झण्डै २ सातासम्म कोरोनासँगको लडाईपछि निमा शेर्पाले भनिन् – ‘हामीले अन्तत कोरोना भाइरसलाई जितेरै छाड्यौं । हामीले जित्यौं, कोरोनाले हार्यो ।’उच्च मनोवल, घरेलु औषधी र स्वास्थ्य जीवनशैलीले आफूले कोरोनालाई पराजित गर्न सफल भएको निमा शेर्पाले बताइन् ।

उनले भनिन् – ‘मनोवल कमजोर बनायो भने र जिउ छाडेर पल्टियो भने कोरोनाले हामीलाई जित्छ, मनोवल उच्च बनायो भने र निरन्तर लडाई जारी राखेमा हामीले जित्न सक्छौं ।’माउन्ट साईनाई अस्पतालमा कार्यरत नर्स निमालाई मार्च ९ मा पेटमा गढबढी भयो ।उनलाई पेट ढुस्स भएजस्तो अनुभव भयो । उनले आफूलाई कोरोना संक्रमण भयो कि भनेर आंशका गरिन् । त्यसैले उनी काममा पनि गइनन् । तर मार्च १० मा उनी काममा गइन् र साथीहरुलाई पनि यो कुरा बताइन् । तर खोकी नलागेको र स्वास फेर्न गाह्रो नभएकाले यो कोरोनाको लक्षण नभएको बताए उनका साथीहरुले ।

मार्च १० र ११ मा काममा गइरहेकै बखत उनको घाँटीमा पनि खसखस भयो । पहिलेदेखि नै साइनसको समस्या भएकाले उनले त्यही नै होला भनेर ठानिन् । स्थीति सामान्य नै होला भन्ठानेर उनले खासै वास्ता गरिनन् । तर कोरोना भाइरसका सन्दर्भमा विश्वब्यापी रुपमा महामारी तीब्र बन्दै गइरहेकाले आफूलाई कतै संक्रमण त भएन भनेर उनलाई भित्रभित्रै भने लागिरहेको थियो ।उनी अस्पतालमा फ्रन्टलाइनमा नै बिरामीसँग भेटेर काम गर्नुपर्ने भएकाले उनले आफूलाई संक्रमणको जोखिम भएको पहिलेदेखि नै अनुभव गरेकी थिइन् ।

बिरामीलाई यात्रा गरे नगरेको समेत अनौपचारिक रुपमा सोध्ने गर्थिन् उनले । कसैले चीनबाट आएको भन्थे, कसैले हङकङबाट आएको भन्थे । उनीहरुसँगको संसर्गमा आएका कारण आफू कोरोना भाइरसको जोखिममा रहेको उनलाई अनुभव भइरहन्थ्यो ।सुरुमा पेट दुख्दा र घाँटी खसखस गर्दासम्म त उनले खासै वास्ता गरेकी थिइनन् । तर उनलाई अचानक ज्वरो आयो । ज्वरो नाप्दा ९९ दशमलव ९ डिग्री फरेनहाइट थियो । सुरुमा त आफै अत्तिएर र नर्भस भएर ज्वरो आएको हो कि भन्ठानिन् । उनी भन्छिन् – ‘ज्वरो नै आइसकेपछि भने मलाई कोरोना संक्रमण भयो भन्ने कुरामा म बढी ढुक्क भएँ ।

किनभने मलाई १० बर्ष अगाडि कान्छोछोरा जन्मिने बेलादेखि यता ज्वरो आएको थिएन ।’ज्वरो आइसकेपछि उनी माउन्ट साइनाई अस्पतालकै इम्प्लोई हेल्थमा गइन् । डाक्टरले कोरोना संक्रमणको आंशका गरेनन् । कोरोना टेस्ट गर्न मानेनन् । बरु फ्लु टेस्ट गर्ने बताए । त्यसपछि निमा घरमा आइन् । घरमा आएपछि उनलाई ज्वरो बढ्दै गएको थियो । डाक्टरलाई फोन गर्दा पनि फ्लु नेगेटिभ भएको बताए । फ्लु नेगेटिभ भएपछि उनले आफूमा कोरोना संक्रमण भएको शतप्रतिशत यकिन गरिन् ।मार्च १४ तारिख शनिबार विहान उठ्दा सँगै सुतेका श्रीमान् सोम गुरुङलाई हनहनी ज्वरो आइरहेको थियो । खोकी पनि लागिरहेको थियो ।

अचानक ज्वरो आएपछि निमा आत्तिइन् । त्यसपछि औषधी लिनका लागि फार्मेसीमा गइन् । मास्क लगाएर फार्मेसीमा गएकी उनले अरुलाई संक्रमण नहोस् भनेर सावधानी समेत अपनाएकी थिइन् ।‘म फार्मेसीमा जाँदा एकजना नेपाली मधुमेहका रोगी पनि त्यहाँ थिए । मैले आफूलाई कोरोना संक्रमणको लक्षण देखिएको र आफ्नो नजिक नआउन उनीहरुलाई भनें । मधुमेहका बिरामी नेपालीलाई घरमै बस्न र औषधी चाहिए अरु कसैलाई पठाउन आग्रह गरें । किनभने मधुमेह लगायतका स्वास्थ्य अवस्था भएकाहरु कोरोनाको बढी जोखिममा हुनसक्ने भएकाले मैले घरमै बस्न सुझाव दिएकी थिएँ ।’ – निमाले भनिन् ।

फार्मेसी विभिन्न औषधी र भिटामिनहरु किन्न गएपनि त्यहाँ औषधीको अभाव भइसकेको थियो । त्यसैले खासै केही पाइएन । त्यसपछि उनी कस्ट्को स्टोरमा गइन् । त्यहाँ बल्लतल्ल केही भिटामिनहरु पाइन् । त्यसपछि ज्याक्सनहाइटको पटेल ब्रदर्समा गएर जडिबुटी , मसला र बेसार किनेर ल्याइन् । घरमा आइसकेपछि सबै जडिबुटी पकाएर श्रीमान्लाई खुवाइन् ।त्यसपछि उनले ८ सयको फोन लाइनमा कल गरेर श्रीमान्लाई सन्चो नभएको र कोरोना संक्रमणको आंशका रहेको बताइन् । तर स्वासफेर्न गाह्रो नभएसम्म कोरोना संक्रमणको परीक्षण नगर्ने बताइयो ।

उनले भनिन् मैले कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणका लागि कुनै प्रोटोकल होला भनेर फोन गरेकी थिएँ । तर उनीहरुको कुनै तयारी थिएन । उल्टै उनीहरुले टेस्ट नगर्ने बताए ।त्यसपछि निमाले कसैको भर नपरेर कोरोना संक्रमणबिरुद्ध आफै जुध्ने अठोट गरिन् । उनी भन्छिन् – ‘कोरोना टेस्ट समेत नगर्ने बताएपछि सुरुमा मेरो आत्मवल निकै गिरेको थियो । म पछि लाग्यो म कोरोनाबिरुद्ध आफै लड्नुपर्छ । आफैले लडेर कोरोनालाई जित्न सकें भने सकें नत्र अरुको भर परेर नहुने रहेछ भन्ने लाग्यो । यो लडाई आफ्नै हातमा रहेछ भन्ने लाग्यो मलाई ।’

अस्पतालमा गएको खण्डमा कोरोना संक्रमण नभएको व्यक्तिलाई पनि भींडभाडका कारण कोरोना संक्रमण हुने खतरा थियो । त्यसैले उनी मार्च १७ मा कोरोना परीक्षणको आशामा अलिक टाढा रहेको सीटीएमडीमा श्रीमान्लाई गाडीमा राखेर लगिन् । उनले भनिन् – ‘भींडभाड भएको अस्पतालमा जाँदा आफूलाई भए अरु निरोगीलाई सर्ने र आफूलाई नभएपनि अरुबाट सर्ने खतरा भएकाले मैले अलिक टाढाको सीटीएमडीमा जाने निर्णय गरें ।’सीटीएमडीमा झण्डै २० मिनेट प्रतिक्षा गरेपछि उनीहरुलाई डाक्टरलाई भेट्न पाए । डाक्टरले उनका श्रीमान्को कोरोना परीक्षण गर्न मानेनन् ।

डाक्टरले हाम्रो प्रोटोकल छ टेस्ट गर्न मिल्दैन भने । निमाले आफू यति टाढा टाइलोनोलका लागि नआएको, आफ्नो श्रीमान् उबर चालक र आफू नर्स भएकाले दुबैजना पहिलेदेखि नै संक्रमणको जोखिममा रहेकाले कोरोना टेस्ट गर्न भनिन् ।अन्तत डाक्टरले फ्लुको टेस्ट गरे । अर्को ब्याक्टेरिया पनि टेस्ट गरे । दुबै टेस्ट नेगेटेभि देखिएपछि डाक्टरले पनि कोरोना संक्रमणको आशंका गरे । अस्पतालमै लगातार खोकी लागेपछि र ज्वरो आएका कारण डाक्टरले निमाका श्रीमान् सोमको कोरोना परीक्षण गर्न तयार भए । अन्तत स् कोरोना परीक्षणका लागि सोमको नमुना लिइयो ।

त्यसपछि उनीहरु घर फर्के । घर फर्केपछि सोमलाई ज्वरो अझ बढ्यो । एकदमै ज्वरो आउने र खलखली पसिना आउने भयो । हुन त निमालाई पनि ज्वरो आइरहेको थियो तर उनले आफ्नो मनोबल उच्च राखिन् । उनी भन्छिन् – ‘ज्वरो मलाई पनि आएको थियो । टाउको दुख्ने र खोक्ने भइरहेको थियो । तर मैले नै हातखुट्टा छाडें भने मेरो परिवार सकिन्छ भन्ने लाग्यो । त्यसैले आफू बिरामी हुँदाहुँदै पनि औषधी खाँदै परिवारको हेरचाहमा लागें ।’सुरुमा बच्चाहरु कोरोना संक्रमणको जोखिममा नरहेको बताइएको थियो ।तर पछि कोरोना संक्रमण जो सुकैलाई पनि हुनसक्ने समाचारहरु आए ।

त्यसपछि बच्चाहरुलाई पनि कतै संक्रमण त भएन भनेर निमा आत्तिइन् । उनले बच्चाहरुको ज्वरो नापिन् । १६ बर्ष र १० बर्षका दुबै छोराहरुमा ज्वरो देखियो ।‘बुढाको हेरचाहमा व्यस्त रहँदा मैले मैले बच्चाको खासै ख्याल गर्न सकेको थिइन । उनीहरु खेल्दै बसिरहेका थिए । तर उनीहरुको तापक्रम नाप्दा ज्वरो देखियो । जेठो छोरालाई ज्वरो आउने र घाँटी दुख्ने लक्षण समेत देखियो । त्यसपछि मैले सबै परिवारलाई कोरोना संक्रमण भएको अनुमान गरें ।’ – निमाले बताइन् ।सीटीएमडीमा गएर नमुना दिएको एकसातापछि कोरोना परीक्षणको नतिजा आयो ।

श्रीमान् सोम गुरुङमा कोरोना पोजेटिभ देखिएको डाक्टरले बताए । तर अरुको पनि परीक्षणका लागि सोध्दा परिवारका एकजनामा पोजेटिभ देखिएपछि अरुको चेक गर्न आवश्यक नभएको बताइयो । मार्च २५ मा कोरोना संक्रमणको पुष्टी भएपछि निमाले अझ बढी सजगता अपनाइन् ।अस्पतालमा भन्दा घरमै श्रीमान् र आफ्नो हेरचाह बढी हुनसक्ने ठानेर निमा आफू पनि घरमै बसिन् र श्रीमानलाई पनि घरमै हेरचाह गरिन् । तातोपानी र सुप पकाएर आफू पनि खाइन्, परिवारलाई पनि खुवाइन् । श्रीमान्लाई टाइलोनोल लगायतका औषधीहरु मात्रा मिलाएर खुवाइन् ।

भिटामिन सी र फलफुलहरु आफू पनि खाइन्, परिवारलाई पनि खुवाइन् ।‘एकदमै गाह्रो नभएसम्म अस्पतालको इमर्जेन्सी रुममा नजानु नै उपयुक्त हुने रहेछ । घरमै बढी टेककेयर गर्न सकिन्छ । अस्पतालमा छुट्टै कोठामा राखेर बिरामीलाई परिवारका सदस्यलाई समेत भेट्न नदिने अवस्था आउँदा झन् बिरामीको मनोवल कमजोर भएर कोरोनाले जित्नसक्ने अवस्था आउने रहेछ । ‘ – निमाले आफ्नो अनुभव सुनाइन् ।निमाले सुख्खा खोकी लाग्दा खसीको खुट्टाको सुपले राम्रो हुने कुरा बुढापाकाबाट सुनेकी थिइन् । त्यसैले उनले खसीको खुट्टा ल्याएर त्यसमा बेसार, अदुवा, टिमुर लगायतका मसला र जडिबुटी हालेर मज्जाले पकाइन् ।

त्यो सुप हरेक विहान आफूले खाइन् र परिवारका सबै सदस्यहरुलाई खुवाइन् । सुन्तला, स्याऊ लगायतका फलफुल खाने र ज्वरो नियन्त्रण नहुँदा टाइलोनोल लगायतका औषधीहरु खाइन् ।‘अहिले परिवारका कुनै पनि सदस्यमा ज्वरो छैन । सबैले घरमै आराम गरिरहेका छन् । चारपाँचदिनदेखि कसैलाई पनि ज्वरो आएको छैन । हामीले स्वस्थ्य अनुभव गरिसकेका छौं ।’ – उनले हाँस्दै भनिन् – ‘हामीले जित्यौं । कोरोना भाइरसले हार्यो ।’अहिले कोरोना भाइरस पोजेटिभ भए नभएको चेक गराउन खोज्दा डाक्टरले चेक गराउन नपर्ने बताएका छन् ।तर उनीहरु सुनिश्चित हुनका लागि कोरोना भाइरस पोजेटिभ भए नभएको परीक्षण गराउन चाहन्छन् ।

निमा भन्छिन् – ‘हामी अहिले घरमै सबैजना आराम गरिरहेका छौं । बच्चाहरु अनलाइन क्लास लिइरहेका छन् । हामीले नियमित खाना खान लागेका छौं । तर एकपटक सुनिश्चित हुनका लागि टेस्ट गराउन चाहन्छौं ।’कोरोना भाइरसको लक्षण ज्वरो आउने र खोकीलाग्नेमात्र नभई स्वाद र गन्ध लिनमा समेत समस्या हुने रहेको निमाको अनुभव छ । आफू र जेठो छोरालाई यो समस्या देखिएको उनले बताइन् । उनले भनिन् – ‘हामीले कफी पिउँदा पनि कुनै गन्ध र स्वाद थिएन । पानी पिएजस्तो हुन्थ्यो । खानाखाँदा पनि कुनै स्वाद थिएन । मलाई पहिले अमिलो खान निकै मुस्किल हुन्थ्यो ।

तर अमिलो खाँदा पनि कुनै स्वादको अनुभव भएन ।’तर अहिले पनि स्वाद र गन्ध फर्किसकेको उनले बताइन् । अहिले दालभात पनि निकै मिठो लाग्न थालेको उनले बताइन् । विगत तीनदिनदेखि आफूहरुले स्वाद र गन्ध पनि अनुभव गर्न थालेको उनको भनाई छ ।कोरोना भाइरससँग लड्नका लागि आत्मबल सबैभन्दा ठूलो कुरा भएको निमाको अनुभव छ । उनले भनिन् – ‘कोरोनालाई कुनै पनि हालतमा जित्न दिनु हुँदैन । आत्मबल उच्च राख्नुपर्छ । आत्तिनु हुँदैन । आत्तिएर हात खुट्टा छाडेर ढल्यो भने कोरोनाले जित्छ । घरमा नुहाउने लगायतका आफ्नो नियमित दैनिकी छाड्नुहुँदैन ।

हात खुट्टा छाडेर पल्टियो भने त मैले हारें, तैले जितिस् भनेर कोरोनालाई छाडिदिएजस्तै हो । त्यसैले जतिबेला पनि बेडमै पल्टिने नभई कुर्सीमा बस्ने र आत्मबल कायम राख्ने गर्नुपर्छ ।’परिवारमा एकजनालाई संक्रमण भइसकेपछि अन्य सदस्यलाई संक्रमण हुने लगभग निश्चित नै भएकाले पोजेटिभ देखिएको बिरामीलाई कोठामा थुनेर राख्न नहुने उनको भनाई छ ।कोरोनालाई स्वीकार गरेर त्यसबिरुद्ध लड्नुपर्छ भन्छिन् निमा । उनी भन्छिन् – ‘घरमा कसैलाई कोरोना संक्रमण भयो भने उसलाई कोठामा थुनेर बाहिरैबाट खाना फ्याकिदिने, औषधि फ्याकिदिने गर्ने हो भने बिरामीको मनोबल कमजोर भएर कोरोनाले जित्नसक्छ ।

बरु सबै परिवार मिलेर कोरोनासँग जुध्नुपर्छ ।’यो बेलामा मानसिक स्वास्थ्य पनि एकदमै महत्वपूर्ण हुने निमाको भनाई छ । उनी भन्छिन् – ‘यो बेलामा मेन्टल हेल्थ एकदम महत्वपूर्ण छ । चिन्ता एकदमै हुने भएकाले त्यसको म्यानजमेन्ट गर्न सक्नुपर्छ । सकभर घरभित्र रमाइलो वातावरण बनाउनुपर्छ । गीत हेर्ने, कमेडी हेर्ने, हाँस्ने, रमाइलो गर्ने तरिकाले मुडलाई राम्रो बनाएमा कोरोनाबिरुद्ध लड्ने शक्ति प्राप्त हुन्छ । परिवारका सदस्यलाई भाइरस लाग्यो भने कोठाभित्र थन्काएर भेट्दै नभेट्ने गर्ने हो भने त बिरामीको इनर्जी एकदमै डाउन हुनसक्छ । त्यसैले यो बेला बिरामीलाई मानसिक सपोर्टको समेत आवश्यकता हुन्छ। (खसोखास)

Related Articles

Back to top button
Close