समाचार

ज्वरो देखिएपछि ठूला अस्पतालले हेरेनन्, डुलाउँदा-डुलाउँदै ५२ वर्षीया नरदेवी गुरुङको निधन

विराटनगर : प्रदेश १ कै सुविधासम्पन्न भनेर आफूलाई चिनाउने ठूला निजी अस्पतालको गम्भीर गल्तीका कारण पहाडी जिल्ला धनकुटाबाट उपचारका लागि ल्याइएकी एक महिलाको निधन भएको छ। यो समाचार अन्नपूर्ण पोस्टम दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् । विराटनगरका न्यूरो, विराट नर्सिङ होम समेतका ठूला अस्पतालले बिरामी लिन अस्वीकार गर्दै उपचार गर्न नमानेपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार निधन भएको हो।

उनी वडाअध्यक्ष शिवकुमार लिम्बू तुम्बाकी कान्छी बहिनी हुन्। छोरी लक्ष्मी गुरुङ (राई) का अनुसार बगैंचाको फूलमा पानी लगाउने क्रममा नरदेवी बिहान लगभग ६ :३० बजे ढलेर बेहोस बनेकी थिइन्। ‘स्थानीय क्लिनिकमा उपचारका क्रममा उच्च रक्तचापका कारण आमालाई समस्या भएको पत्ता लाग्यो,’ लक्ष्मीले भनिन्, ‘क्लिनिकले यहाँ सम्भव नहुने भन्दै थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिदियो।’

त्यसपछि एम्बुलेन्समा राखेर परिवारका सदस्यले लगभग १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइपुर्‍याए। ‘चेकजाँचका क्रममा ज्वरो १०२ डिग्री देखियो। धरानमा उपचार सुरु गरेपछि चिकित्सकले आईसीयू खाली नभएको र बिरामीलाई तत्काल आईसीयूमा राख्नु पर्ने भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरिदिए,’ लक्ष्मीले भनिन्, ‘वीपीले बनाइदिएको सिफारिससहित बिरामी पुर्‍याएपछि लगभग १२ बजेबाट न्युरोमा औषधि किन्न लगाउँदै नर्सहरुले उपचार सुरु गरेर डाक्टरलाई बोलाए। तर पछि डाक्टर आएर भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएको बिरामी उपचार गर्न सकिँदैन भनेर निकालिदिए।’ तर केही दिनयता न्युरोको भेन्टिलेटर खाली नै रहेको पाइएको छ।

करिब १ बजे बिरामीलाई विराट नर्सिङ होम विराटनगर पुर्‍याइयो। अरु अस्पतालले उपचार गर्न नमानेको बिरामीलाई हामीले किन उपचार गर्ने भन्दै कर्मचारी र चिकित्सकले तुच्छ व्यवहार देखाएको छोरी लक्ष्मीको गुनासो छ। ‘विराटमा सुरुमा बेडमा राखेर औषधि किन्न लगाए। उपचार पनि सुरु गरे,’ लक्ष्मीले भनिन्, ‘अरु अस्पतालको कागजपत्र हेरेपछि हामी पनि उपचार गर्दैनौं भन्दै निकालिदिए।

त्यसपछि नोबेल शिक्षण अस्पताल पुर्‍याइयो। परिवारका सदस्य र आफन्तले धेरै अनुनयविनय गरेपछि नोबेलले बिरामी लिएर उपचार सुरु गर्‍यो। उपचारकै क्रममा दिउँसो ३ :३० बजेतिर नरदेवीको निधन भयो।

Related Articles

Back to top button
Close