समाचार

गोकुल बास्कोटाको ७० करोड कमिसन काण्डको अडियो टेप ‘लिक’ हुनुमा प्रचण्ड र जनार्दन शर्माको हात !

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन माग गरेको अडियो टेप सार्वजनिक भएलगत्तै निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजीनामा दिइसकेका छन् । यतिबेला सो टेप कसले सार्वजनिक गरेको हो त भन्ने विषयमा अनुसन्धान जारी छ ।

सो अडियो टेप दुई महिनाअघि नै बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले समेत सुनिसकेको समाचार पनि आइसकेका छन् । स्विस कम्पनीका नेपाली एजेन्ट विजयप्रकाश मिश्रले आफूले सो टेप मिडियालाई नदिएको बताइसकेका छन् । उनले केही महिनाअघि प्रधानमन्त्री केपी ओलीलाई नेकपा महासचिव विष्णु पौडेलमार्फत बुझाएको रहस्य खोलेका छन् । तर, एकाएक सो टेप मिडियामा कसले बुझायो भन्ने विषय नेकपाभित्र भुसको आगोझैं फैलिन थालेको छ ।

अडियो टेप सार्वजनिक हुनुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि शंकाको घेरा तेर्सिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीलाई रक्षात्मक अवस्थामा पु¥याउन र आफूलाई पार्टीमा हाबी बनाउन प्रचण्डले आफ्ना विश्वसनीय पात्र जनार्दन शर्मामार्फत अडियो टेप मिडियामा सार्वजनिक गराएको हुन सक्ने विषयले नेकपामा तरंग सिर्जना गरेको छ ।

नेता शर्मा बाहिर त्यति नखुल्ने तर भित्रभित्र रणनीति बनाउन खप्पिस नेतामध्येमा पर्छन् । विगतमा माओवादी संगठन बलियो हुनुमा शर्माको भित्री रणनीति पनि कारक मानिएको थियो । अहिले उनी पर्दा पछाडि छन् । तर, उनी सधैं प्रचण्डको निकटमा रहेर काम गर्दै आएका छन् । प्रचण्डलाई हरेक स्टेप चाल्न शर्माले नै सल्लाह दिने गरेका छन् ।

पूर्वमन्त्री बास्कोटा प्रधानमन्त्री ओलीका दाहिने हात नै हुन् । बास्कोटालाई प्रहार गर्न सके ओलीलाई कमजोर बनाउन सकिने ठानेरै कमिसन काण्डलाई बाहिर ल्याइएको स्रोतले बतायो । हुन पनि बास्कोटासँग एक खर्बका सात मेघा प्रोजेक्ट हातमा रहेको तथ्य सार्वजनिक भइसकेको छ । बास्कोटालाई एक्सपोज गरेर आफूलाई कमजोर बनाउने प्रचण्डको प्लान बुझेरै प्रधानमन्त्री केपी ओलीले शनिबारको केन्द्रीय सचिवालय बैठकमा बास्कोटालाई पार्टीले छानबिन गर्न आवश्यक नरहेको धारणा राखेका हुन् । ओलीले बास्कोटाका सम्बन्धमा राज्यले नै छानबिन गर्ने बताएपछि प्रचण्ड निरास बनेको बुझिएको छ । ओलीको त्यस्तो प्रस्तावपछि बास्कोटाको विषयमा थप छलफल नै नगरी बैठक एमसिसीमा प्रवेश गरेको थियो ।

Related Articles

Back to top button
Close