समाचार

वामदेवलाई प्रधानमन्त्री बनाउने डिजाईन कसले रच्यो ? यस्तो छ भित्रि रहस्य !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गरेर भए पनि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘गृहकार्य’ थालेको छ । शनिबार बसेको नेकपा सचिवालयको बैठकले संविधान संशोधनको लागि कार्यदल गठन गरेको छ । संविधान संशोधन गरेर मधेसका मु’द्दालाई सम्बोधन गर्छौं भनेर राष्ट्रिय जनता पार्टी (राजपा) र तत्कालीन संघीय समाजवादी फोरम, नेपालसँग समर्थन बटुलेको थियो । सरकारले दुई तिहाइ समर्थन समेत गुमायो । संविधान संशोधनका लागि विज्ञ सम्मिलित कार्यदल बनाउने प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएको थियो ।

“शनिबारको सचिवालय बैठकले माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले संविधानमा भएको मौजुदा व्यवस्था अध्ययन गर्नेछ । विभिन्न राजनीतिक दलसँग पनि परामर्श गरेर सुझाव प्रस्तुत गर्ने छ,” स्रोतले बाह्रखरीसँग भन्यो । मौजुदा संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था छ । संविधानको धारा ७६ (१)मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उसकै अध्यक्षतामा मन्त्रिपरिषद गठन हुने व्यवस्था छ ।

कार्यदलले यो व्यवस्था परिवर्तन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र तल्लो (प्रतिनिधिसभा) र माथिल्लो सदनका सदस्यहरूको हैसियत बराबर बनाउन गृहकार्य गर्ने स्रोतले जानकारी दियो ।

वामदेवलाई प्रधानमन्त्री बनाउने खेलो !

स्रोतका अनुसार वामदेव केही समयदेखि जसरी पनि प्रधानमन्त्री बन्ने दौडमा छन् । बर्दिया–१ बाट प्रतिनिधिसभाको निर्वाचन हारेपछि उनी उपनिर्वाचनका लागि ठाउँ खोज्दै हिँडे । काठमाडौं–७ सम्म आइपुग्दा १४ ठाउँ प्रयास गरे पनि उपनिर्वाचनका लागि परिस्थिति अनुकूल बनेन । त्यसपछि गौतमले राष्ट्रियसभाबाट भए पनि प्रधानमन्त्री बन्ने दाउ हेरिरहेको नेकपाका सचिवालय तहका नेता बनाउँछन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न संविधान बाधक छ । तर, अध्यक्ष प्रचण्डले संविधान संशोधन गरेर भए पनि प्रधानमन्त्री बन्न बाटो खोलिदिने बताएपछि वामदेव हौसिएको स्रोतको दाबी छ । गत पुस १८ गते अगावै संविधान संशोधनका लागि पार्टीभित्र सहमति तयार पार्ने प्रचण्डको आश्वासन थियो । तर ओली तयार नभएपछि वामदेव आफैं उमेदवार बन्न रोकिएका थिए ।

पछिल्लो पटक नेकपाको समीकरण बदलिएको छ । पार्टी सचिवालयमा प्रचण्ड–नेपाल समूहको बहुमत छ । स्थायी कमिटी र केन्द्रीय कमिटीको अवस्था पनि त्यस्तै छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कमिसन मोलमोलाइ गरेको अडियो टेप बाहिरिएसँगै बहिर्गमित भएपछि ओली थप रक्षात्मक बनेका छन् ।

Related Articles

Back to top button
Close