समाचार

अब पूर्ण रुपमा नेपालमै बनेको मोटरसाइकल चढ्न पाइने !

काठमाडौं– नेपाली युवा उद्यमीहरुको प्रयासमा पहिलोपटक पूर्ण रुपमा नेपालमै निर्मित मोटरसाइकल सडकमा देख्न पाइने भएको छ ।

नेपाली युवा उद्यमीहरुको स्टार्टअप कम्पनी ‘यात्री’ले आफ्नो ‘प्रोजेक्ट जीरो’अन्तर्गत विद्युतीय मोटरसाइकल सडकमा उतार्न लागेको हो ।यात्रीले उक्त मोटरसाइकल १९ डिसेम्बर (३ पुस)मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

यात्रीले आफ्नो आधिकारिक वेवसाइट र ट्वीटर ह्यान्डिलमा डिसेम्बर १९ मा ‘सोकेस’का रुपमा ‘प्रिमियम इलेक्ट्रिक मोटरसाइकल’ सार्वजनिक हुने जनाएको छ ।

सन् २०१७ मा काठमाडौंमा स्थापना भएको यो कम्पनीले सन् २०१८ देखि प्रोजेक्ट जीरोअन्तर्गत इलेक्ट्रिक मोटरसाइकल बनाउने परियोजना शुरु गरेको थियो ।कम्पनीले १९ डिसेम्बरमा लञ्च हुने मोटरसाइकलका विशेषताबारे भने केही उल्लेख गरेको छैन ।

यद्यपि, कम्पनीले आफ्नो ट्वीटर ह्यान्डमा उक्त मोटरसाइकलका केही स्केच, प्रोटोटाइप र भिडियोहरु भने सार्वजनिक गरेको छ । ट्वीटरमा सार्वजनिक गरिएको प्रोटोटाइपमा यात्रीले क्याफे रेसर डिजाइनमा उक्त मोटरसाइकल तयार गरेको अनुमान लगाउन सकिन्छ ।

Related Articles

Back to top button
Close