समाचार

रेडक्रसको भ्रष्टाचार काण्डमा तानिए गृहमन्त्री बादल !

काठमाडौं। कल्याणकारी काम गर्ने संस्थाका रुपमा परिचित नेपाल रेडक्रस सोसाइटीभित्र भएको भनिएको भ्रष्टाचार काण्डमा कम्युनिस्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तानिएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीका आधारमा छानबिनका लागि गृहमन्त्री थापा बोलाइएका छन् ।

रेडक्रस सोसाइटीको नेतृत्वबाट भ्रष्टाचार भएको भन्दै समितिमा उजुरी परेपछि छानबिन प्रारम्भ गर्न गृहमन्त्री थापालाई बोलाउने निर्णय संसदीय समितिले गरेको छ । अनुसन्धानको सुरूमा गृहमन्त्रीलाई बोलाएर छलफल गर्न लागिएको संसदीय समितिका सदस्य लालबाबु पण्डितले बताए । गृहमन्त्री थापाको कुरा सुनेपछि समितिले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।

संसदीय समितिमा परेको उजुरीमा रेडक्रसको नेतृत्वलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गरिएको छ । सेवामूलक संस्था रेडक्रस सोसाइटीका अध्यक्षले मासिक १ लाख २५ हजार रुपैयाँसम्म भत्ता लिने गरेको उजुरी समितिमा परेको छ । समितिको उजुरीका अनुसार अन्य पदाधिकारीले ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म भत्ता पाउने गरेका छन् ।

भूकम्पबाट प्रभावित भएका जिल्लामा काम गर्ने रेडक्रसका पदाधिकारीले मासिक ८ देखि १५ हजार रुपैयाँसम्म भत्ता खाने गरेको उजुरीमा उल्लेख छ । रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वले विधान संशोधन नगराएरै प्रदेश तदर्थ समिति गठन गरेको समेत पाइएको छ ।

गैरसरकारी संस्थाको नियमन गर्नुपर्ने गृहमन्त्रीले उजुरीका सम्बन्धमा किन चासो दिएनन् भनेर सांसदहरूले जवाफ माग्ने समिति स्रोतले जनाएको छ ।

Related Articles

Back to top button
Close