भिडियोसमाचार

पछाडीबाट खरेल ठूलो स्वरमा कराउँदै थिए : ‘यस्तो घुस्याहा हाकिमकहाँ छाती तन्काउन गइन्न

रमेश खरेल धेरै वर्षअगाडि नगरकोटमा इन्स्पेक्टरको रुपमा स्थानीय प्रहरी कमाण्ड सम्हाल्थे। एक साँझ उनले सञ्चार सेटबाटै आफू मातहतका प्रहरीलाई उर्दी दिए- दसैं तिहारको मौसममा नगकोटतिर जुवातास खेल्न ठूलाबडा आउँछन्, हाम्रै हाकिमहरु पनि आउलान्। कसैलाई नछोड्नू। मलाई राति होइन, बिहान मात्रै खबर गर्नू। नेपालको राष्ट्रिय भलिबल टिमका पूर्वकप्तान खरेल एकताका प्रहरी तालिमकेन्द्र महाराजगन्जमा पोस्टिङमा थिए। उनी त्यहाँ रहँदै प्रहरीको नयाँ ब्याच तालिम सकेर पोस्टिङमा जाने तर्खरमा थियो। उनका सिनियर र पुर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि तालिम केन्द्रमै थिए। तालिम समापन समारोहलाई सम्बोधन गर्न प्रहरीका एक डिआइजी आएका थिए।

रिसेप्सनपछि साँझ डिआइजीलाई पनि बिदा गर्ने समय भयो। सबै लाइन लागेर बिदाइका लागि उपस्थित भए। खरेल पछाडि ठूलो स्वरमा कराउँदै थिए- यस्तो घुस्याहा हाकिमकहाँ छाती तन्काउन गइन्न। अर्याललाई भने डिआईजीले सुन्लान् भन्ने ध्याउन्न थियो। उनले नै खरेललाई सम्झाए- जे पायो त्यही नकराऊ, हिँड लाइनमा जाउँ। आफूसँग अति मिल्ने अर्याललाई जिस्क्याउँदै खरेलले भने- सर पनि घुस्याहाको पक्षमा हो कि के हो? खरेल अ काठमाडौंका एसपी हुँदाको कुरा हो। नेपालीहरुलाई अवैध रुपमा प्रवेश गराउने क्यासिनो विरुद्ध उनले धावा नै बोलेका थिए। नेपालीहरुको प्रवेशले मात्र क्यासिनोमा प्राण भर्न सक्थ्यो, त्यसैले क्यासिनो मालिकहरु आतंकित थिए।

क्यासिनो र काठमाडौंको सुरक्षाको विषयमा गृहमन्त्रीको कार्यकक्षमा मिटिङ थियो। गृहमन्त्री, सचिव, आईजिपी, एआइजी र खरेल मिटिङमा थिए। खरेल आफ्नो कुरा राख्दै थिए। एआइजीले खरेललाई सम्झाउने भाकामा भने- हैन रमेश कुरो यसो हो ….। खरेलले एआइजीको कुरा भुइँमा झर्न दिएनन्। उनले भने, ‘तपाइँको कामको ट्र्याक रेकर्ड र इमान सबैलाई थाहा छ। मलाई सम्झाउन नखोज्नुहोस्।’खरेल काममा कसैसँग सम्झौता गर्दैनथे। यिनले शक्तिशाली र सर्वसाधारणसँग एउटै व्यवहार गरेका छन्। दुवैसँग यिनको निष्ठा एकनास प्रदर्शन हुन्छ। त्यसैले जुन जुन जिल्लामा गए, आम मानिसको मन जितेका छन्। प्रशंसा बटुलेका छन्।

खरेल र नेपाल प्रहरीबीच त्यही सिस्टमको बेमेल छ। औँलामा गन्न सकिने केही अधिकृतहरुबाहेक नेपाल प्रहरी कर्तब्य निर्वाहमा खुकुलो छ। काममा जुम्सो छ। आत्म समीक्षामा कमजोर छ। संगठनका बारे सार्वजनिक र आन्तरिक रुपमा हुने आलोचनाप्रति भने कठोर छ। खरेल त्यसको ठीक उल्टा छन्। आफ्नो काम र जिम्मेवारप्रति उनी कठोर रुपले अनुशासित छन्। आफ्नो निष्ठामा सम्झौता गर्दैनन्। प्रहरी महानिरीक्षक अर्यालले नै नेपाल प्रहरीमा धेरै इमान्दार अधिकृत रहको तर खरेलको तुलना कसैसँग हुननसक्ने बताएको म आफैंले सुनेको छु।

खरेल आफ्नो काममा जति अनुशासित छन्, संगठनको आलोचनामा त्यत्ति नै ‘अनुशासनहीन।’ उनी संगठनको आलोचना रोक्न सक्दैनथे। सत्य के हो भने, रमेश खरेलजस्ता एकदुई जना नैतिकवान र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका कारणमात्र सर्वसाधारणको भरोसा नेपाल प्रहरीजस्ता संस्थाबाट पूर्ण रुपमा उडेको छैन। नेपाल प्रहरीमात्र होइन, हामीले अहिले बाँचेको राजनीतिक-सामाजिक व्यवस्थाले झिनो वैधता पाएको नै रमेश खरेल, मुख्य सचिव लीलामणि पौडेल, डाक्टर गोविन्द केसी जस्ता केही नामले गर्दा हो। सार्वजनिक जीवनबाट यी नाम निकालिदिने हो भने नेपाली समाजबारे हाम्रो आफ्नै मूल्याङ्कन धेरै निराशाजनक हुनेछ।

Related Articles

Back to top button