समाचार

‘म घर जान्न किनकि यो भाइरसलाई मेरो देशमा लैजान चाहँदिन’

बीबीसी । चिनियाँ शहर जिङजोउमा बसिरहेका क्यामरुनका २१ वर्षीय विद्यार्थी केम सेउन पाभेल पनि कोरोना भाइरसको संक्रमणमा परे । तर आश्चर्यजनक उनी मौका पाए पनि आफू घर जान नचाहेको बताउँछन् । अफ्रिकामा आफ्नो परिवारकहाँ जान सम्भव भए पनि आफू चीन बाहिर ननिस्कने उनले बताएका हुन् ।

विगत १४ दिनदेखि आफ्नो युनिभर्सिटीको डोर्ममा क्वारेन्टाइन्ड भएर बसेका पाभेल भन्छन्, “जेसुकै होस् तर म मेरो यो रोग अफ्रिकासम्म पुर्याउन चाहन्नँ ।” उनमा ज्वरो, सुख्खा खोकी लगायतका लक्षण देखा परेको थियो । यस्तोमा यो नयाँ संक्रमणले आफूलाई बाल्यकालमा मलेरिया हुँदाको यादा दिलाएको उनी बताउँछन् ।

उनी भन्छन्, “म पहिलोपटक अस्पताल जाँदा आफ्नो मृत्यु कसरी हुनेछ भन्ने मात्र सोचिरहेको थिएँ ।” यसरी १३ दिनसम्म उनी स्थानीय चिनियाँ अस्पतालमा आइसोलेसनमा बसेका हुन् जसपछि उनलाई एचआइभीका बिरामीमा प्रयोग गरिने एन्टिबायोटिक र औषधिहरु दिइएको थियो । यसरी उपचारका क्रममा उनले ठीक भएको संकेत देखाउन थाले । सिटी स्क्यानमा पनि उनमा रोगको कुनै लक्षण नदेखिएपछि उनी कोरोना संक्रमित पहिला अफ्रिकी व्यक्तिबाट ठीक हुने पहिलो अफ्रिकी बन्न पुगेका हुन् । त्यहाँ उनको सम्पूर्ण उपचार खर्च चिनियाँ सरकारले बेहोरेको उनी बताउँछन् ।

यसअघि अफ्रिकी देशहरुमा कोरोना भाइरस देखा पर्नेमा इजिप्ट सबैभन्दा पहिलो राष्ट्र रहेको थियो । यसरी स्वास्थ्यविद्रुले पनि विशेषगरी कमजोर स्वास्थ्य प्रणाली भएका अविकसित देशहरुमा यो भाइरस फैलिएमा त्यससँग लड्न धेरै चुनौतिमय हुने चेतावनी दिइरहिेका छन् । चीनमा मात्र यो भाइरसबाट ७२ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

यसबारेमा उनी भन्छन्, “म मेरो पढाइ पूरा गर्नु भन्दा अगाडि घर जान चाहँदिन । किनकि म घर जानुपर्ने कुनै कारण नै छैन । मेरो सबै अस्पताल बिलहरु चिनियाँ सरकारले हेरिरहेको छ । त्यसैले मलाई कुनै चिन्ता छैन ।”

तर जनवरीको अन्त्यदेखि नै अमेरिकाको नेतृत्वमा थुप्रै देशहरुले आफ्ना नागरिकलाई भाइरसको एपिसेन्टर वुहान लगायत नजिकी शहरबाट आफ्नो देश फर्काइरहेका छन् ।

तर हजारौँका सङ्ख्यामा रहेका अफ्रिकी विद्यार्थी, कामदार र परिवारहरु भने हुबेइ प्रदेश भित्रै बन्द भएर बसेका छन् ।

यस्तोमा कतिपयले सरकारले आफूहरुको मद्दत गर्नुपर्ने भनि असन्तुष्टि जनाइरहेका छन् ।

टोङ्जी मेडिकल युनिभर्सिटीमा पढ्ने एक अफ्रिकी विद्यार्थी टिसिलियानी सालिमा भन्छिन्, “हामी अफ्रिकाकै सन्तान हौँ तर हाम्रो देश सबैभन्दा ठूलो आपत्कै बेला हाम्रो उद्धारका लागि आउन चाहँदैन ।”

झन्डै एक महिनादेखि सालिमा आफ्नै कोठामा क्वारेन्टाइन्ड भएर बसेकी छन् । यसरी दिनहुँ सुतेर र चिनियाँ सामाजिक संजाल चेक गरेर समय बिताइरहनु परेकाप्रति उनी पटक्कै खुसी छैनन् ।

वुहानमा उनी जस्ता १८६ अफ्रिकी विद्यार्थीहरु मद्दतविहिन अवस्थामा बसिरहेका छन् ।

धेरैलाई खाद्य सुरक्षा, उपभोग्य वस्तुहरुको आपूर्ति र जुरुरी सूचना अनि आवश्यक जानकारीहरुको अभावप्रति पनि ठूलो चिन्ता छ ।

सहरमा प्रत्येक दिन १०० जना बिरामीको मृत्यु भइरहेकाले पनि उनीहरु निर्धक्क बस्न सकिरहेका छैनन् । यसरी सलिमाले पनि पछिल्ला केही दिनहरुमा आफूसँगै पढ्ने साथीहरुलाई तिनका देशले लगिरहेको देखेकी छन् जसमा उनी मात्र पछि परेको बताउँछिन् ।

अर्का एक विद्यार्थीले अज्ञात रुपमा बीबीसीसँग भनेका छन्, “सार्वजानिक रुपमा होस् या निजी तर अफ्रिकी देशहरु चीनले नै यो संकट सम्हाल्नेछ भन्नेमा विश्वस्त छन् । यसमा आधिकारिक प्रतिक्रियाहरु सुन्दा पनि अफ्रिकी देशले चीनलाई निराश गराउन नचाहेको बताइएको छ । त्यसैले पनि वास्वतमा हामीसँग बार्गेन गर्ने कुनै शक्ति छैन । ”

हाल अफ्रिका चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र केही वर्ष यता दुईबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ । यसबीच चीन ८० हजार भन्दा धेरै अफ्रिकी विद्यार्थीहरुको घर बनेको हो । यसमा धेरै विद्यार्थीहरु स्कलरशीप कार्यक्रमहरुबाट आकर्षित भएर चीन आउने गर्दछन् । तर सामुदायिक लिडरहरुका अनुसार थुप्रै परिवार, युवा र वृद्धहरु समेत हुबेइ प्रदेशमा फसेका छन् जसलाई चिनियाँ सरकारले पर्याप्त सहायता गरिरहेको छैन ।

नाइजेरियामा केही समय अगाडि मात्र स्नातक उत्तीर्ण गरेकी एन्जेला भन्छिन्, “धेरै मानिसहरुले हामीलाई घर नआउन पनि भनिरहेका छन् । उनीहरुका अनुसार नाइजेरियाले यो रोग थाम्न सक्नेछैन । तरपनि म हरेक दिन ठूलो द्विविधामा पर्छु । किनकी अन्त्यमा म पनि एउटा मान्छै नै हुँ । हाम्रो सरकारले पनि हामीलाई चिनेर बाहिर निकाल्ने प्रयास गरे हामी धेरै खुसी हुने थियौँ । तर अहिलेसम्म हामीले आफ्नो देशबाट कुनै प्रतिक्रिया पाएका छैनौँ ।” गत हप्ता २२ दिनपछि पहिलोपटक एन्जेला आवश्यक उपभोग्य सामान खरिद गर्न आफ्नो कोठाबाट बाहिर निस्किएकी हुन् । उनी भन्छिन्, “यो शहर वास्तवमै भूतिया भइसकेको रहेछ । अब मलाई सुपरमार्केटमा छिर्न दिने नदिने पनि निश्चित छैन । गेटमै सबैको तापक्रम परीक्षण भइरहेको छ । ”

३० जनवरीका दिन क्यामरुन समुदायले राष्ट्रपतिलाई खुला पत्र लेख्दै आफ्ना नागरिकहरुलाइै एपिसेन्टर वुहानबाट बाहिर निकाल्न अपील गरेको थियो । यसरी हप्तौँदेखि आफूहरु त्यही पत्रको जवाफ पर्खिरहेको समुदायका लिडर डाक्टर पिसो स्कट नसेके बताउँछन् । उनका अनुसार समुदायका सबैको धारणा एउटै छैन तरपनि सरकारको तर्फबाट कुनै मद्दत नआउनुले सबैलाई निराश बनाएको छ । फेब्रुअरीको मध्यदेखि नै इजिप्ट, अल्जेरिया, मरिसियस, मोरोक्को लगायतका अफ्रिकी मुलुकहरुले आफ्ना नागरिकलाई हुबेइ प्रदेशबाट लगिसकेका छन् । घाना र केन्याले पनि यसबारे योजना बनाइरहेको बताइएको छ ।

त्यस्तै कतिपय राष्ट्रहरुले चाहिँ आफ्ना नागरिकका लागि आर्थिक सहयोग पठाएका छन् । आइभोरी कोस्ट स्टुडेन्ट असोसिएसन वुहानका अनुसार ७७ जना आइभोरियनका लागि यसअघि ५०० अमेरिकी डलर पठाइएको थियो । तर अधिकांश विदेशीहरु आफ्नो देशले कुनै कदम नउठाएकाप्रति असन्तुष्टि जनाइरहेका छन् । घानाले नि यसअघि आर्थिक सहयोग पठाएको थियो ।

सलिमा भन्छिन्, “यहाँ बस्नुले हाम्रो सुरक्षा सुनिश्चित गराउँदैन । हामी केबल राम्रो स्वास्थ्य सुविधा भएको देशमा भएकाले मात्र भाग्यमानी छौँ । ” अर्का विद्यार्थीले पनि आफूहरुलाई सबैले बिर्सिएको र मर्नका लागि छाडेको जस्तो महसुस हुने गरेको बताए ।
तरपनि पाभेलले भने आफ्नो घर क्यामरुन जाने कुनै चाहाना नभएको बताए ।

उनी भन्छन्, “वास्तवमा कोरोना लिएर घर फर्किनु धेरै खतरनाक साबित हुनेछ । भाइरसबाट संक्रमित भएपछि म विशेषगरी मनोवैज्ञानिक र भावनात्मक पीडाबाट धेरै गुज्रिनुपर्यो । त्यसैले मेरा लागि घर फर्किनु कुनै विकल्पमा पर्दैन ।”

Related Articles

Back to top button
Close