समाचार

कुनै चलचित्रका हिरो भन्दा कम थिएनन् प्याराग्लाइडिङ दुर्घटना मृत्यु भएका पाइलट राजु

पोखरा – पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु हुनाका साथै एक घाइते भएका छन् । सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगर पालिका वडा नम्वर – १८ सराङकोट बाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।यस्तै दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक रहेको छ । प्याराग्लाईडिङ अवतरण स्थान भन्दा झन्डै २ किलोमिटर माथि दुर्घटना भएको थियो ।स्थानीयले घटना थाहा पाए लगत्तै घाइतेको उद्धारमा जुटेका थिए।

यो पनि : प्याराग्लाइडिङ दुर्घटनाको कारण प्याराग्लाइडिङमा उच्छृङ्खलता

पोखराको आकाशमा प्याराग्लाइडिङ हुन थालेको दुई दशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे, केही यात्रुले ज्यान पनि गुमाए । सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।

यसअघि सोलो (एकल) उडान वा प्रशिक्षार्थी पाइलट मात्रै बढीजसो दुर्घटनामा पर्दै आएका थिए । टेन्डम उडान दुर्घटनामा परिहाले पनि यात्रु र पाइलट सामान्य घाइते भएका थिए । यसपटक भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गुमाए । यो दुर्घटनापछि उडानका क्रममा पाइलटले गर्ने गल्तीबारे पनि बहस चल्न थालेको छ । अनुभवी पाइलटहरूका अनुसार उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ । प्याराग्लाइडिङका अनुभवी पाइलट दामोदर पराजुली भन्छन्, ‘पाइलटले गर्नै नहुने गतिविधि गर्दा पनि दुर्घटनाको जोखिम बढेको छ । पाइलटका उच्छृंखल गतिविधिले दुर्घटना दोहोरिने गरेका छन् ।’

प्याराग्लाइडिङ पाइलटका प्रशिक्षकसमेत रहेका पराजुलीका अनुसार उडानका क्रममा यात्रुलाई थप रोमाञ्चकता दिलाउन कतिपय पाइलटले भुइँ नजिकै पुगेर फूल र रूखका पात टिप्ने, तालको पानी छुवाउने, एक्रोब्याटिक गराउने गतिविधि पनि गर्छन् । यसबाट दुर्घटनाको जोखिम बढी हुन्छ । ‘आकाशमा उडिरहेको ग्लाइडरलाई रूख नजिकै ल्याएर फूल र पात टिप्न खोज्नुलाई उच्छृंखलता भन्न सकिन्छ,’ उनी भन्छन्, ‘यसो गर्नुु मूर्खता पनि हो ।’ चालकले पात र फूल टिपेर दिई यात्रुलाई खुसी पार्न यसो गरेको उनले बताए । ‘उडिरहेका बेला रूखको नजिकै आएर फूल र पात टिपेर यात्रुलाई दिने पाइलटलाई कारबाही गर्नुपर्छ,’ उनी भन्छन् । स्रोतका अनुसार सोमबारको दुर्घटना पाइलटले रुखको पात टिप्न खोज्दा भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् । तस्विर तल हेर्नुहोस

Related Articles

Back to top button
Close