समाचार

मजदुरका लागि के दशैँ , के तिहार ! न काम पाइयो , न राज्यले दु :ख देख्यो !

५३ हिउँद पार गरेका कृष्ण गिरी यतिखेर संख्यामा गन्न नसकिने पीडाले थिचिएका छन्। काठमाडौंको बौद्ध क्षेत्रमा भारी बोकेर परिवारको जीवनरथ जेनतेन हाँकिरहेका उनलाई यो वर्ष सकसपूर्ण बनिदिएको छ।
दशैँ लागिसकेको छ। साथमा पैसा हुने मानिसहरू सामान किनेर घर/कोठामा फर्किरहेका छन्। तर उनी दिनहुँ नाम्लो बोकेर बौद्ध पुग्छन्, भारी खोज्छन्, पाउँदैनन्, अनि रित्तो हात अवाक भएर डेरा फर्कन्छन्।
पोहोर सालको दशैँ यतिसाह्रो पीडादायक थिएन। भुईंका मानिसहरूका लागि थोरै जोहो गर्न सके चाडबाड उतिबिघ्न खल्लो पनि हुँदैन। कृष्ण पनि गत साल दशैँ मनाउन सिन्धुपाल्चोकस्थित घर गएका थिए। परिवारलाई एकजोर नयाँ कपडा, थोरै मरमसला, मासु खानेका लागि एउटा बोको, टीकाटालो गर्न थोरै खुद्रा पैसा…! यति जोहो भए दशैँ यसै उल्लासमय भैहाल्छ। तर यसपालिको दशैँ कृष्णहरूका लागि नआउने पक्कापक्की छ।
कारण उही हो : कोरोना महामारी। यस्तो बेला विपन्नहरूका लागि राज्य अभिभावक भइदिनुपर्ने हो। तर राज्यले आफ्नो भूमिका च्युत गर्दैछ। कृष्णहरूको दैनिकी कष्टकर बनेको सिंहदरबारले देख्न र सुन्नै चाहँदैन।
महामारी शुरू भएदेखि नै दैनिक ज्यालादारी गर्ने र अनौपचारिक क्षेत्रमा निर्भर निम्नवर्गीय नागरिकको रोजीरोटी गुमेको छ। चाडबाड त झन् विपन्नहरूलाई खिसी गर्न ठिङ्ग अघि उभिएको छ। शहरमा बसौँ : छाक टार्ने पैसो छैन। गाउँ जान पनि त धेरै/थोरै पैसा चाहियो नै !
कृष्णजस्ता भरियाहरूले भारी नपाएको ६ महिनाभन्दा धेरै भइसक्यो। अत्यासलाग्दो कहर भोगेका कृष्ण सुस्केरा हाल्दै भन्छन्, ‘दशैँ मनाउने उपाय नै भएन, पैसा नभएपछि गाउँ पनि जान नपाइने भयो।’
लकडाउन अघिसम्म काम पाउने गरेका कृष्णले एक हजार रुपैयाँजति त दिनहुँ कमाउँथे। तर, अहिले कमाइ छैन। हजार रुपैयाँको नोट उनमा हात नपरेको महिनौं भइसक्यो।
चाडबाडका बेला गाउँ जान नपाउँदा परिवारको मन खल्लो हुँदो हो। तर, अरू विकल्प पनि त छैन। घर जान नपाउँदा गाउँका परिवार के भन्छन? भनी सोध्दा भावुक हुँदै उनले जवाफ दिए, ‘घरपरिवारले खै के भन्लान्! संकट बुझेकै छन्। यसपाली यस्तै भइहाल्यो। बाँचे पैसा कमाएर अर्को साल परिवारसँग दशैँ मनाउँला।’

Related Articles

Back to top button
Close