समाचार

नेपाली सेनाको कोरोनाबाट बच्ने यो उपाय, दशैंमा घरजाने सेनालाई आफै पुर्याइदिने

काठमाण्डौं । नेपाली सेनाले चाडपर्वमा कोरोनाबाट आफ्ना सैनिकहरुलाई बचाउन नयाँ रणनीति ल्याएको छ । सेनाले दसैं बिदामा जाने सैनिकलाई घरसम्म पुर्‍याउने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा कोरोना सर्ने जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्‍याउने व्यवस्था गरेको हो ।

सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको छ ।

यस वर्षको दसैंमा सकेसम्म कमलाई बिदामा छाड्छौं, रुट मिल्नेलाई बस, हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पुर्‍याउने व्यवस्था गरेका छौं, प्रवक्ता पौडेलले भने, सकेसम्म कसैले पनि सार्वजनिक यातायात नचढ्ने गरी व्यवस्था मिलाएका छौं ।

बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने तयारी सेनाको छ।सेनाले कोरोना संक्रमणबाट आफ्ना जवानलाई बचाउनका लागि यस्तो व्यवस्था गरेको हो ।

नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ । घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ । विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ ।

यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्‍याउने व्यवस्था गरेको छ । नजिक र ठूलो संख्यामा पुर्‍याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए ।

हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना देखिएको छ। यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन्। कोरोनाकै कारण दुई सैनिकको ज्यान गएको छ।

Related Articles

Back to top button