समाचार

कोरोनाका कारण कुखुराको मासु तीन वर्षयताकै सस्तो, सोच्नै नसक्ने गरी यति धेरै घट्यो मुल्य

काठमाडौं । कोरोना महामारीबीच कुखुराको मासुको मुल्यमा भारी गिरावट आएको छ । पछिल्लो तीन वर्ष यताकै सस्तो भएको व्यवसायीहरुले बताएका छन् । एक महिनामा तीन पटक मूल्य घट्दा पनि मासु नबिकेपछि प्रतिकिलो तयारी मासुको मूल्य दुई सय रुपैयाँबाट पनि तल झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ ।

दुई सय भन्दा कममा बेच्दा पनि बजारमा मासुको खपत नबढेको संघका प्रथम उपध्यक्ष श्रय ढकालले बताउँछन् । यो साताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको छ । साउन अन्तिम साता तीन सय भन्दा बढी रहेको मासुको मूल्य तीन पटक घटेर नयाँ मूल्य कायम भएको संघका महासचिव बाबुराजा रावलले जानकारी दिएका छन् ।

रोचक कुरा के भने मूल्य सस्तो हुँदा पनि उपभोग भने अझै निरासाजनक रहेको छ । खपतको तुलनामा उत्पादन बढेका कारण बजारमा मासुको मूल्यको भाउ ओरालो लागेको भ्याली ग्रूपका कार्यकारी निर्देशक एवम् मासु व्यवसायी सक्षम घिमिरे बताउँछन् । चाडपर्वलाई लक्षित गरेर किसानले मासुको उत्पादन बढाएको तर बजारको खपत ५० प्रतिशतभन्दा बढीले घट्दा मासुको बिक्रीमा मन्दी आएको बताइन्छ ।

मासु धेरै खपत हुने होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत अन्य क्षेत्रहरु कोभिड(१९ले बन्द हुँदा मासुको खपत निरासाजनक भएको हो । लकडाउन अवधिमा मासुको व्यापार राम्रै भएपनि दोस्रो पटकको निषेधाज्ञाले व्यापार चौपट भएको व्यवसायीहरुले गुनासो गरेका छन् । मासु खपतका लागि सरकारी योजना नभएको र महामारीकै बेला आइपरेको संकटले व्यवसायी पनि अन्योलमा परेका हुन् ।

Related Articles

Back to top button