समाचार

लाइसेन्स वा सवारी साधनका कागजपत्र हरायो ? अब यसरी दिनुस् अनलाइनबाटै निवेदन

काठमाडौ । केही अघिसम्म काठमाडौँ उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिडभाड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिडको जोखिम उत्तिकै थियो ।

अब भने त्यो झन्झटबाट नागरिक मुक्त भएका छन् । महाशाखाले घरमै बसेर सबै समस्याका निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेपछि सर्बसाधारणका लागि ठुलो राहत मिलेको छ । अब नागरिकले हराएका कागजात र सवारी साधनसम्बन्धिका निवेदन मोबाइल वा कम्यूटरबाट एक क्लिकमै दिन सक्नेछन् ।

विगतदेखि नै प्रविधिमैत्री अभ्यासको थालनी गरेको महाशाखाले कोरोना फैलिएपछि प्रविधिको उच्चतम प्रयोगतर्फ जोड दिएको पाइएको छ । कार्यालयमा भिडभाड हुने र रोगको जोखिम बढेपछि त्यसको नियन्त्रणका साथै ट्राफिक व्यबस्थापन चुस्त बनाउन उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी प्रविधितर्फ जोड दिन थालिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल बताउनुहुन्छ ।

महाशाखामा यही असोजमा हराएका कागजात र सवारी साधनबारे अनलाइनमार्फत निवेदन दिन सकिने गरी नयाँ सफ्वेयरको विकास गरिएको हो । यसका लागि महाशाखाको वेवसाइटमा गएर अनलाईन एप्लिकेशनमा क्लिक गर्नुपर्ने छ । त्यसभित्र ‘लस्ट डकुमेन्ट एप्लिकेशन’ र ‘लस्ट भेइकल एप्लिकेशन’ गरी दुई वटा अप्सन देख्नुहुने छ । आफ्नो समस्याको आधारमा एउटा अप्सन छनोट गरी त्यसमा क्लिक गरेर निवदेन दिन सकिनेछ ।

नेपाली वा अङ्ग्रेजी दुबै भाषामा निवेदन दिन सकिने व्यवस्था छ । अनलाइनमा मागिएको विवरण भरेर पठाएपछि उक्त विवरण सोझै ट्राफिक प्रहरीको नियन्त्रण कक्षमा पुग्ने छ । त्यही विवरणको आधारमा प्रहरीले दर्ता गरी तत्काल खोजी कार्य शुरु गर्ने महाशाखाअन्तरगत कम्युटर शाखाका प्रहरी निरीक्षक सुरेशकुमार थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनलाईन प्रणालीको अनुगमन र रेखदेखमा कम्युटर एडमिन शाखाले काम गर्ने छ । त्यही शाखामार्फत गुनासोकर्तालाई सूचना सम्प्रेशण हुन्छ । फेला परेपछि अनलाइनबाटै सूचना पुग्ने गरी सफ्टवेयरको विकास गरिएको छ त्यही सूचनाको आधारमा सवारी वा कागजातधनीले आफ्नो सामग्री लैजान सक्ने छन् ।

यही असोज ५ गते हराएका सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्रको सिफारिसको निवेदन अनलाइनबाटै दिन सकिने व्यवस्थाको थालनी गरिएको र असोज १८ बाट भने हराएका सवारीको पनि अनलाइनबाटै निवेदन दिन सकिने गरी सफ्टवेयरको प्रयोग शुरु भएको छ । महाशाखाका अनुसार झण्डै १५ दिनको अबधिमा अनलाइनबाट एक हजार ५१२ वटा निवेदन प्राप्त भइसकेको छ ।

Related Articles

Back to top button