बाहुबलीका कटप्पाको झल्को दिने ‘प्रेम गीत–३’ का क्रान्तिवीर
फिल्म ‘प्रेम गीत-३’ आउँदो चैत २८ गतेबाट प्रदर्शनको तयारीमा छ।
छायाङ्कन सकेर पोस्ट प्रोडक्सनमा रहेको निर्माण युनिटले विभिन्न समयमा फिल्मको प्रचार सामग्री सार्वजनिक गर्दै आएको छ।
यसै क्रममा फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले एक नयाँ पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा कलाकार प्रेम पुरीलाई देखाइएको छ।
झट्ट हेर्दा उक्त पोस्टर चर्चित बलिउड फिल्म ‘बाहुबली’का चर्चित पात्र कटप्पाझैँ लाग्छ। निर्माता सेनको फेसबुक पोस्टमा पनि अधिकांशले पोस्टर बाहुबलीका कटप्पा पात्रको नेपाली भर्सन भनेर प्रतिक्रिया दिएका छन्।
तथापि उनी कटप्पा नभएर प्रेम गीत-३ मा क्रान्तिवीरको भूमिकामा देखिनेछन्।
अभिनेता प्रदीप खड्का, नवअभिनेत्री क्रिस्टिना गुरुङ, सुनिल थापा, माओत्से गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय रहेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गरेका हुन्।
निर्देशक गुरुङ र मन्दीप गौतमको संयुक्त लेखन रहेको फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन्।